काठमाडौं, मंसिर २२ – नयाँ शक्ति पार्टी नेपाल ३ नं. प्रदेशको पूर्ण बैठकले ६ महिने सांगठानिक कार्ययोजना तय गरेको छ । मंसिर ६ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कार्यकारी समितिले पारित गरेको संगठन विस्तारसम्बन्धी कार्ययोजनालाई प्रादेशिक तहमा कार्यान्वयन गर्नका लागि बैठकले कार्ययोजना तयार गरेको हो । पार्टीको ३ नं. प्रदेश, आगिंक प्रदेश, राष्ट्रिय मामिला र सम्पर्क संयन्त्रको संयुक्त आयोजनामा उक्त बैठक काठमाडौंमा सम्पन्न भएको हो ।
बैठकलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा डा. भट्टराईले नेपालको वर्तमान राजनीतिक परिस्थितिमा नयाँ शक्ति पार्टी नै नेपालको अग्रगामी राजनीतिक शक्ति भएको बताउनु भयो । संविधान संशोधनलगायत कार्यकारी राष्ट्रपतीय प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल उठाउने क्रममा पनि नयाँ शक्ति अरुभन्दा अग्रगामी र परिवर्तनकारी शक्ति भएको पुष्टि भएको डा. भट्टराईले बताउनु भयो ।
डा. भट्टराईले मुलुक गम्भीर राजनीतिक संक्रमणको बीचबाट गुज्रिएको बताउँदै यसको निकासको लागि संविधान संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । संविधान संशोधन गरी मधेसी, जनजातिलगायत उत्पीडित, उपेक्षित समुदायको हक अधिकार स्थापित गर्नुपर्ने आवश्यकतामा समेत डा भट्टराईको जोड थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ शक्तिलाई संविधान संशोधनमा सघाउन आग्रह गरेको बताउँदै नयाँ शक्ति अग्रगमनको लागि संयोजनकारी भूमिकामा प्रस्तुत भएको पनि डा. भट्टराईले बताउनु भयो ।
‘केही शक्तिहरु संविधान संशोधन नहोस् भन्ने चाहन्छन्, ती शक्तिहरुले प्रतिगमन चाहिरहेका छन, कांग्रेस, एमाले, माओवादीलगायतका शक्तिहरु यथास्थितिमै अडिन चाहेका छन् । तर नयाँ शक्तिलगायत परिवर्तनकारी शक्तिहरुले अग्रगमन चाहिरहेका छन्’ उहाँले भन्नुभयो –‘ मुलुकलाई अग्रगमनको बाटोमा डो¥याउन सबैलाई समेट्न सक्नेगरी संविधान संशोधन अहिलेको टड्कारो आवश्यकता हो ।’
एक अर्को प्रसङ्गमा डा. भट्टराईले वर्तमानमा देखिएको राजनीतिक अकर्मन्यताकै कारण नयाँ शक्ति निर्माण गर्नुको औचित्यता समेत पुष्टि भएको बताउनु भयो । उहाँले नयाँ शक्ति पार्टीप्रति अहिले देशभित्र र विशेष गरी रोजगारीलगायत अन्य कामका लागि विदेशिएका नेपालीहरुको आकर्षण बढिरहेकोप्रति लक्षित गर्दै नयाँ शक्ति नै आवश्यक भएको सबैले महशुस गरिसकेको बताउनु भयो ।
उहाँले संगठन विस्तार, सुदृढीकरण र ध्रुवीकरण गर्दै नयाँ शक्तिलाई पहिलो शक्ति बनाउनुपर्नेमा जोड दिँदै ध्रुवीकरणको प्रक्रिया समेत सुरु भएको बताउनु भयो ।
बैठकमा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आर्थिक समृद्धि र सुशासनको कुरा पार्टीले गरेको भन्दै त्यसका लागि संगठन निर्माण नै पहिलो र मुख्य विषय भएको बताउनु भयो । उहाँले पार्टी निर्माणको आधारभूत कुरा नै जनतामा जाने हो र जनतासँगै बसेर मात्रै पार्टी निर्माण हुने कुरा बताउनु भयो ।
बैठकमा पार्टीका ३ नं. प्रदेश संयोजक गंगा श्रेष्ठले संगठन निर्माण, जनपरिचालन, प्रशिक्षण, सत्याग्रहलगायत विभिन्न कार्यक्रम गर्ने पार्टीको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यी कार्यक्रमहरु पुसदेखि आगामी जेठसम्म सञ्चालन गरिने कार्ययोजना प्रस्तुत गरिएको छ ।
बैठकमा राष्ट्रिय मामिला संयन्त्रका संयोजक परशुराम तामाङ, आंगिक प्रदेश संयोजक कुमार पौडेल र सम्पर्क संयन्त्र संयोजक वीरेन्द्र पोखरेलले पार्टीलाई वैकल्पिक र प्रमुख राजनीतिक शक्ति कसरी बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।




