बुटवल, १० चैत । खुला सिमाका कारण चोरी पैठारी र भन्सारमा कडाई नहुंदा अण्डर बिलिङ भएर हुने आयातले नेपाली व्यवसायीहरु मारमा परेको विद्युतीय व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले खुला सीमा र भन्सार नाकामा कडाई गर्न सरकारसंग माग गरेका छन् ।

रुपन्देही विद्युतीय व्यवसायी संघको १२औं साधारणसभा तथा सातौं अधिवेशनमा बोल्दै विद्युतीय व्यवसायी महासंघका कन्द्रीय अध्यक्ष रेशम देवकोटाले व्यवसायीहरु अप्ठेरो परिस्थिति र मारमा परेकाले स्वदेशी उत्पादन र व्यवसायीलाई संरक्षण गर्न खुला सीमाबाट हुने भन्सार छली र चोरी पैठारी रोक्नुका साथै व्यसायीमैत्री नीति नियम र कानून बनाउनुपर्ने माग गर्नुभयो ।
उपभोक्ताले गुणस्तरीय विद्युतीय सामान मात्र प्रयोग गर्न पाउन् भनेर महासंघले सम्बन्धित सरकारी निकायमा ज्ञापनपत्र दिने र डेलिगेसन गएर नेपाल गुणस्तर चिन्ह वा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र प्राप्त सामान मात्र विक्रि वितरण गर्न पाउने व्यवस्था मिलाउन पहल गरिरहेको बतानुभयो ।
अध्यक्ष देवकोटाले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई बैंक ब्याज दरमा सहुलियत दिन र स्वदेशी विद्युतीय सामानको प्रयोगलाई प्राथमिकता दिन सरकारसंग माग गर्नुभयो । अध्यक्ष देवकोटाले आफ्नै सचिवालय भवन र किरियापुत्री भवन समेत बनाएको र नगर तथा गाउंपालिकामा समेत शाखा विस्तार गरी देशमै उत्कृष्ट शाखाको रुपमा काम गरेको भन्दै सराहना गर्नुभयो ।

संघका जिल्ला अध्यक्ष लोकनाथ पोख्रेलले स्थानीय तहले व्यवसाय करमा छुट दिनुपर्ने, कर लिने एकद्वार प्रणाली गर्नुपर्ने, विद्युतीय सामानको कारोबार गर्ने व्यवसाय दर्ता गर्न संघको सिफारिस अनिवार्य गनुपर्र्ने, घर निर्माणमा विद्युतीय वायरिङको नक्साङकन स्थानीय तहबाट अनिवार्य गरिनुपर्ने माग गर्नुभयो । विद्युतीय सामानको कारोबार संवेदनशील र जोखिम भएकाले गुणस्तरीय सामान मात्र विक्रि वितरण गर्न अध्यक्ष पोखरेलले व्यवसायीलाई आग्रह गर्नुभयो । विद्युतीय सामानको गुणस्तर परीक्षणका लागि प्रयोगशाला (ल्याब) स्थापना गर्न, कम विद्युत खपत गर्ने विद्युतीय सामान आयातमा भन्सार दर कम गर्न पनि उहाले माग गर्नुभयो । कार्यक्रममा महासंघ पुर्व अध्यक्ष तेजनारायण खरेल, उद्योग व्यापार संघ बुटवलकी महिला उपाध्यक्ष अन्जु पाण्डे, रुपन्देही ब्यापार संघका सचिव मनहरि बस्याल,होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, विद्युतीय व्यवसायी संघ चितवनका अध्यक्ष नवराज सुवेदी र कार्यक्रम संयोजक एवं नव निर्वाचित अध्यक्ष शान्ताराज खरालले व्यवसायीको हक हितका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा उत्कृष्ट शाखाका रुपमा तिलोत्तमा, दोस्रो स्थानमा सैनामैना कन्चन गाउंनगर र तेस्रो स्थानमा देवदह नगर समितिलाई पुरस्कृत गरिएको थियो ।
संघको अधिवेशनबाट अध्यक्षमा शान्ताराज खराल,वरिष्ठ उपाध्यक्षमा केशवकुमार सिंह (सुजित),प्रथम उपाध्यक्षमा सुर्य कुंवर र ७ जना कार्यसमिति सदस्यहरुमा गणेश पन्त,रामप्रसाद गैरे, गौरव जयसवाल,चिरन्जिवि गैरे, उपेन्द्रप्रसाद अधिकारी,विष्णुप्रसाद पाण्डे र जीवनप्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदमा भने सहमति हुन बांकी छ ।




