तिलोत्तमा । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले महेन्द्र राजमार्गको दाउन्ने सडक खण्डमा स्तरीय ग्राभेल गरेर भए पनि वर्षायाममा सवारी सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले यो कार्य निर्माण कम्पनी आफैंले गर्न सक्ने र यसबाट राज्यलाई थप व्ययभार नपर्ने दाबी गर्नुभयो ।
बुटवल—नारायणगढ सडक निर्माणको कामलाई तीव्रता दिएको सरकारलाई धन्यवाद दिँदै उहाँले दाउन्नेको १४ किलोमिटर सडक निर्माणको कामको गति बढाउन सरकारलाई आग्रह गर्नुभयो । यो सडक खण्ड बिग्रिदा यात्रुले अत्यन्त दुःख पाएको बताउँदै उहाँले निर्माण नसकिएको अवस्थामा विकल्प खोजिनुपर्नेमा जोड दिनुभयो ।
प्रहरीले पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध भएको जनाउँदै वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।





