तिलोत्तमाले ल्यायो दुई अर्ब ९२ करोडको बजेट (पूर्णपाठ सहित)

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने अनुमान गरिएको छ । बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १६ करोड बढीको बजेट ल्याएको हो ।
बजेटको पूर्णपाठ यस प्रकार छ ः
आदरणीय नगरसभाका सभाध्यक्ष ज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, सभाका सचिव ज्यू तथा विभिन्न टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण हेरिरहनुभएका र रेडियोबाट सुनिरहनु भएका आदरणीय नगरबासी दाजुभाई तथा दिदिबहिनी एवम् सम्पूर्ण महानुभावहरु,
१. तिलोत्तमा नगरपालिकाको नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले म दोस्रो नगरसभाको सातौं अधिवेशनको यस सम्मानित नगरसभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्न उपस्थित भएको छु ।
२. यस अवसरमा सर्वप्रथम मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित स्वाभिमान, लोकतन्त्र तथा सामाजिक न्याय र परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सवै प्रकारका परिवर्तनको आन्दोलनहरुको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै घाईते, बेपत्ता एवं पिडित परिवारहरुलाई स्मरण तथा सम्मान व्यक्त गर्न चाहन्छु ।
३. नेपालको संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालु आवधिक योजना, दीगो विकासका लक्ष्य, संघीय, प्रादेशिक तथा स्थानीय ऐन, कानून र कार्यविधिहरुबाट निर्देशित हुँदै यसै सम्मानित नगरसभाबाट स्वीकृत नगर सरकारको आ.व ०८२÷०८३ को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रमको उद्देश्य “समृद्ध नगर सुखी नगरबासी” को मुल मर्मलाई आत्मसात गर्दै बजेट तर्जुमा गरेको छु । यसै गरी राजनैतिक दलका नेतृत्वका सुझाव, विगतको अनुभव, नागरिक समाज, निजी क्षेत्र, सहकारी क्षेत्र, टोल विकास संस्था, स्थानीय सामुदायिक संघ संस्था, वुद्धिजीवी,सरोकारवाला निकाय, संचारकर्मी लगायतका क्षेत्रहरुबाट विभिन्न माध्यमबाट प्राप्त राय, परामर्श तथा रचनात्मक सुझावहरुलाई समेत समेट्दै आगामी आ.व. २०८२÷०८३ को अनुमानित बजेट प्रस्ताव गरेको छु ।
४. यो बजेट तिलोत्तमानगरबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गर्दै तयार पारिएको छ। तिलोत्तमा नगरले स्थापित गरेको गरिमालार्ई थप उचाँइमा पुर्याउने गरी ल्याइएको यस बजेटले तिलोत्तमा नगरपालिका भित्रका बहुआयामिक पक्षहरुलाई सम्बोधन गर्ने प्रयत्न गरेको छ।
५. वित्तीय संघीयता अनुरुप विभिन्न तह र निकायहरुबाट प्राप्त हुने अनुदान र राजस्वलाई प्राथमिकीकरण गरी बजेटका प्राथमिकता र उद्धेश्य हासिल हुने कार्यक्रमहरुमा लगानी केन्द्रित गरेको छु । यो लगानीबाट, शैक्षिक क्षेत्रको सर्वाङ्गीण विकास, भौतिक पूर्वाधार र दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, गरिबी न्यूनिकरण र रोजगारी तथा स्वरोजगारका अवसरमा वृद्धि गर्दै समग्र नगरको सन्तुलित र समन्यायिक विकास हासिल हुने अपेक्षा गरेको छु ।
६. उपर्युक्त नीति र व्यवस्थित योजनाको साथ अगाडी बढ्न सक्दा नगरको विकास र समृद्धि तथा सामाजिक न्यायको मार्गमा अघि बढाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौ ।
७. यस बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर, राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि संचालित नगरका महत्वपूर्ण गौरवका योजनाहरुलाई आगामी आ.व.मा सम्पन्न तथा संचालन गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरेको छु ।
८. बजेट मार्फत रोजगारी सिर्जना गर्ने, आय आर्जन बढाउने र समृद्ध तिलोत्तमा नगरको निर्माण गर्ने, अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । यसैगरीे मध्यमकालिन खर्च संरचना अनुरुप योजनाको प्राथमिकीकरण सहित स्रोतको सुनिश्चितता गरी बजेटलाई बढी वस्तुपरक र कार्यान्वयनयोग्य बनाईएको छ ।
९. यस बजेटको सबल कार्यान्वयनले नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, सेवा प्रवाह , स्थानीय न्याय निरुपण र सांस्कृतिक तथा मानविय विकासमा थप टेवा पुग्ने अपेक्षा लिएको छु ।

आदरणीय सभाध्यक्षज्यू
१०. आगामी आ.व. २०८२÷०८३ को बजेट देहायका उद्देश्य प्राप्तिमा केन्द्रित रहनेछ । “समृद्ध नगर ः सुखी नगरवासी“ भन्ने लक्ष्य हासिल गर्नको लागि वलियो आधार तय गर्नु यस बजेटको मूल उद्देश्य रहनेछ भने अन्य उद्देश्यहरु देहाय अनुसार रहेका छन् ।
क) शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वाङ्गिण विकास र गुणस्तरमा वृद्धि गर्ने ।
ख) सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच सबै नगरबासीमा सुनिश्चित गर्ने ।
ग) उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजना मार्फत रोजगारी सृजना गर्ने
घ) वातावरण विपदका क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने ।

११. यस बजेटका प्राथमिकताहरु देहाय अनुसार रहेका छन् ।
क) शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिमाणात्मक र गुणात्मक अभिवृद्धि गर्ने ।
ख) प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी गर्ने, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने ।
ग) वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण गर्ने।
घ) सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने ।
ङ) समतामुलक समाज र समावेशी विकासलाई अगाडि बढाउने ।
च) गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने ।

१२. नगर सरकारले बजेटका उद्धेश्यहरु हासिल गर्न र प्राथमिकता प्राप्त आयोजनाहरु कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नेछ । नगरमा उपलब्ध श्रम, सीप पूँजी, क्षमता र ज्ञानको प्रभावकारी उपयोग गरी रोजगारी सिर्जना गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिने छ ।

आदरणीय सभाध्यक्षज्यू,
अव म चालु आ.व. २०८१÷०८२ को हालसम्मको यथार्थ आय र व्यय तर्फको विवरण प्रस्तुत गर्न चाहन्छु ।

१३. आ.ब ०८१÷०८२ का लागि.बजेट रकम रु.२ अर्व ७६ करोड ६२ लाख २२ हजार को बजेट प्रस्तुत गरिएको थियो । जसमध्ये चालुतर्फ १ अर्व २४ करोड ४३ लाख ७४ हजार र पुँजीगत तर्फ रु.१ अर्व ५२ करोड १८ लाख ४८ हजार खर्च अनुमान रहेको थियो ।

१४. नगरसभाबाट स्वीकृत बजेट अनुसार आ.व. ०८१÷०८२ मा आन्तरिक राजश्व परिचालनतर्फ ३२ करोड ६६ लाख २५ हजार लक्ष्य राखिएकोमा चालु आ.व.को ज्येष्ठ मसान्तसम्म २३ करोड ६७ लाख रुपैया उठेको छ । वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने अनुदान रकम चालु आवको जेष्ठ मसान्त सम्म १ अर्ब २७ करोड ३३ लाख ३५ हजार २ सय ४४ रुपैया स्थानीय संचितकोषमा प्राप्त भएको छ ।

१५. चालु आ.व को ज्येष्ठ मसान्त सम्म कुल खर्चको ४५.०५ प्रतिशत खर्च प्रगती भएको छ। जसमध्ये चालु तर्फ ६४.९५ प्रतिशत र पुँजीगत तर्फ ३२.७५ प्रतिशत खर्च भएको छ। त्यसैगरी यस आ.वको जेष्ठ मसान्त सम्म ३३ करोड ७७ लाख ६६ हजार ६ सय ९२ रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरिसकिएको छ ।

आदरणीय सभाध्यक्षज्यू,
१६. अब म आगामी आ.व. २०८२÷०८३ का लागि तिलोत्तमा नगरपालिकाको आम्दानीका स्रोतहरुको संक्षिप्त विवरण राख्न चाहान्छु ।
क) आन्तरिक राजस्वतर्फ रु. ३३ करोड रुपैया आम्दानी हुने लक्ष्य राखिएको छ ।
ख) अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा बचतबाट रु. २ अर्व ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया प्राप्त हुने लक्ष्य लिइएको छ ।
ग) आगामी आ.व. मा नगरको कुल बजेट रु २ अर्व ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया हुने प्रक्षेपण गरिएको छ । जसमध्ये चालु खर्च तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४.१७ प्रतिशत र पुँजीगत तर्फ १ अर्व ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैया खर्च अर्थात ५५.८३ प्रतिशत हुने अनुमान रहेको छ ।

यसको विस्तृत विवरण अनुसूची १ मा समावेश गरिएको छ ।
१७. यसका अतिरिक्त संघीय तथा प्रदेश सरकार र अन्य साझेदार संस्था मार्फत सहलगानीका कार्यक्रम प्राप्त हुन सक्ने सम्भावना समेत रहेको हुँदा यसरी प्राप्त हुने बजेटबाट कार्यान्वयन गर्नको लागि साझेदारी कार्यक्रम अन्तरगत समेत बजेट प्रस्ताव गरेको छु।

आदरणीय सभाध्यक्षज्यू, अव म आगामी आ.व.को लागि क्षेत्रगत कार्यक्रम तथा विनियोजन बजेट सभा समक्ष प्रस्तुत गर्ने अनुमती चाहान्छु

शिक्षा
१८. सामुदायिक विद्यालयको शौक्षिक एवंम भौतिक पूर्वाधार तथा शिक्षण सिकाई उपलब्धीको लागि शौक्षिक सुधार वर्षको रुपमा घोषणा कार्यक्रमलाई सार्थकता तुल्याउन आवश्यक बजेटको प्रवन्ध गरेको छु । तिलोत्तमा शौक्षिक सुधार कार्यक्रम माध्यमिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड, विभिन्न सृजनशील कार्यक्रमहरु पढ्दै—कमाउदै कार्यक्रम, टिनको छानो भएको विद्यालयलाई फल्ससिलिङ्ग योजना वालमैत्री नगर, नवप्रर्वतन कार्यक्रमको लागि यथोचित बजेट व्यवस्था गरेको छु ।

स्वास्थ्य
१९. तिलोत्तमा नगरपालिकालाई स्वस्थ्य नागरिक समृद्ध तिलोत्तमा नगर बनाउदै नगरबासीको स्वास्थ्य सेवामा सहज, सरल पहँुच पुयाउनको लागि विभिन्न सुधारोन्मुख एवंम अभियानात्मक योजना संचालन गरिने छ। आनन्दवन नगर अस्पताल,सेमराबजार स्वास्थ्य चौकीलाई मातृ अस्पताल, वातानुकुलित खोप केन्द्र, अशक्त र विपन्नलाई स्वस्थ्य बीमा, गर्भवती पोषण कार्यक्रम लगायतका महत्वपूर्ण योजनाका लागि बजेट विनियोजन गरेको छु ।
२०. विपन्न तथा अशक्त घरपरिवारको लागि तिलोत्तमा नगरपालिकाभित्र रहेका स्थानिय शवदाहस्थलमा दाहसंस्कार गर्न जाँदा प्रयोगहुने सवारी साधन नगरपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराउन आवश्यक बजेटको प्रबन्ध गरेको छु। समग्रमा सामाजिक विकास क्षेत्रमा ९९ करोड ४२ लाख ५२ हजार ५ सय ८२ बिनियोजन गरेको छु ।

आर्थिक विकासः
२१. कृषिमा आत्मनिर्भर नगरपालिका बनाउन सामुहिक खेती, चक्लाबन्दी खेती, चैते धानलाई प्रोत्साहन कार्यक्रम, पकेट क्षेत्र विकास कार्यक्रम, कृषि उद्यम र उद्यमीलाई यान्त्रिकरण र व्यवसायिकिकरण गर्नका लागि प्रविधि हस्तान्तरणको लागि बजेटको प्रबन्ध गरेको छु । गहँुको विउमा २० प्रतिशत अनुदानकोे व्यवस्थालाई बजेटमा सुनिश्चितता गरेको छु ।
२२. दुधमा दिईदै आएको प्रति लिटर २ रुपैया अनुदानको लागि रु ७० लाख विनियोजन गरेको छु ।
२३. विउविजन, वेगनवेली नर्सरी उत्पादन एवमं कृषिको अध्ययन अन्वेषणका लागि कृषि सेवा केन्द्र भलवारी (दल्का) को स्तरोन्नती गर्न, दुग्ध उत्पादक किसानलाई अनुदानमा खुवा बनाउने मेशिन उपलब्ध गराउन र लुम्बिनी बिशिष्टकृत संघलाई बजारीकरण यान्त्रिकरण र संचालनका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु । समग्रमा आर्थिक विकास क्षेत्रमा ६ करोड १९ लाख ५० हजार विनियोजन गरेको छु ।

भौतिक पूर्वाधार तर्फ
२४. नगरपालिकाको भौतिक पूर्वाधार र दिगो विकासका लागि संघ प्रदेश र दातृ निकाय एडिवि, वल्र्ड बैंक, दातृ निकाय, सँगको सहकार्य, समन्वय र साझेदारीमा नगर क्षेत्र भित्रका भौतिक पूर्वाधार, सडक नाली तथा वहुृउद्देश्यीय भवनको स्तरउन्नती गरिने छ। यसका लागि आवश्यक बजेट प्रस्ताव गरेको छु ।
२५. एक वडा एक किलोमिटर सडक निर्माणका लागि रु १५ करोड विनियोजन गरेको छु ।
२६. तिलोत्तमा बहुउदेश्यीय भ्यू टावरको निर्माण सम्पन्न र संचालन गर्न रु १ करोड रकम विनियोजन गरेको छु । सिटि कलेज संचालन व्यवस्थापनको लागि रु ५० लाख, केउलानीमा रहेको हलमा स्किल टे«निङ्ग सेन्टर स्थापनको लागि रु २५ लाख विनियोजन गरेको छु ।
२७. यस वर्ष वडा नं. २, ७ र १५ को वडा भवन निर्माण गर्न रु ३ करोड बिनियोजन गरेको छु । साथै सम्पन्न नभएका वडा कार्यालय बाउन्ड्री वाल, सभाहल लगायतका संरचना सम्पन्न गर्न रु २ करोड बजेट व्यवस्था गरेको छु । ढाके्रबास पर्यटन पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२८. मानव सेवा आश्रम,माक्षधामको भौतिक पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२९. सडकको मर्मत सम्भार गर्न, सड्कलाई खाल्टा खुल्टी मुक्त बनाउन यस वर्ष पूर्वाधार एम्बुलेन्स तथा मेशिनरी औजार खरिद गर्नको लागि रु २ करोड बिनियोजन गरेको छु। समग्रमा पूर्वाधार विकास क्षेत्रमा ९७ करोड ५८ लाख ३९ हजार विनियोजन गरेको छु ।

वातावरण तथा विपद् व्यवस्थापन
३०. तिलोत्तमा नगरपालिकालाई सुरक्षित समुन्नत र वातावरण मैत्री नगर बनाउन सिक्स लेन सडक सौन्दर्यीकरण, हरियाली प्रर्वद्धन, विपद स्वंम सेवक तालिम, उज्यालो तिलोत्तमा , विभिन्न पार्क तथा उद्यान निमार्ण, नदि कटान नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३१. उर्जा खपत गरौ देशको समृद्धमा हातेमालो गरौ अभियानलाई सार्थकता तुल्याउन १ हजार इन्डक्सन चुलो वितरण गर्ने कार्यलाई प्राथमिकतामा राख्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
३२. टोल विकास संस्थाको विकास र परिचालन गर्दै नगरको समग्र विकासमा जोड्नको लागि रु ८० लाख विनियोजन गरेको छु ।
३३. तिलोत्तमा सूचना केन्द्र आपतकालिन कार्य सञ्चालन केन्द्रलाई प्रविधिमैत्री , आधुनिकीकरण गर्न आवश्यक प्रबन्ध गरेको छु ।

युवा तथा खेलकूद
३४. युवामैत्री स्थानीय शासन घोषणा तथा विभिन्न विधाका खेलकुद आयोजना गर्न र खेलकुद पूर्वाधार निर्माण लगायतका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
३५. महिला, वालवालिका, जेष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण तथा क्षेत्रगत जनसाख्यिक संरचना र सम्बन्धित वर्ग र समुदायको आवश्यकता अनुसार सामाजिक सुरक्षा, सीप विकास, आय आर्जन, लैङ्गिक मैत्री नगरपालिका निमार्ण, उद्यमशिल नगर, क्षमता विकास तथा सिप विकास तालिम लगायत कार्यक्रममा आवश्यक बजेट विनियोजन गरेको छु ।
३६. धार्मिक सास्कृतिक एवम मानव मर्यादा सहित विभेदमुक्त नगर निर्माण गर्नका लागि दलित ज्ञान महोत्सव जस्ता सामाजिक रुपान्तरण र जागरणका कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु ।

सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास
३७. नगरपालिकामा कार्यरत करार कर्मचारी, नगर प्रहरी समेतलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्न र पूर्णता दिन रु १ करोड ५० लाख बिनियोजन गरेको छु। ज्यालादारी तथा सरसपmाई कर्मचारीको जोखिम दुर्घटना बीमा गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु। साथै नगरबाट प्रतिनिधित्व गरेर जिल्ला, प्रदेश, केन्द्रमा जाने खेलाडीलाई जोखिम दुर्घटना बीमाको लागि आवश्यक प्रबन्ध गरेको छु ।

३८. वडा कार्यालयहरुमा घुम्ति शिविर, कर्मचारीहरुको क्षमता विकास तथा स्थानीय रुपमा संचालित रेडियो, टेलिभिजनको संस्थागत विकास तथा संचार क्षेत्रको विकास र सञ्चारकर्मीहरुको क्षमता विकासको लागि आवश्यक बजेट विनियोजन गरेको छु। समग्रमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५१ करोड ७३ लाख ५८ हजार विनियोजन गरेको छु ।

आकस्मिक पूर्वाधार
३९. नगरक्षेत्रभित्रका आकस्मिक भैपरी आउने अत्यावश्यक भौतिक पूर्वाधार विकास र अन्य विकास सम्बन्धी कार्यका लागि आकस्मिक पूर्वाधार कोषबाट सम्बोधन गर्न आवश्यक बजेट प्रस्ताव गरेको छु । साथै वडाको क्षेत्रभित्र पर्ने आकस्मिक र भैपरी आउने समस्याहरुलाई सम्बन्धित वडाभित्रैबाट तत्काल सम्वोधन गर्नको लागि प्रत्येक वडा समितिको निर्णय बमोजिम खर्च गर्ने व्यवस्थालाई निरन्तरताको लागि प्रस्ताव गरेको छु ।

आदरणीय सभाध्यक्ष ज्यू,
४०. यसरी समग्रमा तिलोत्तमा नगरपालिकाको आ.व. २०८२÷०८३ को कूल बजेटको आकार रु. २ अर्व ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया रहने गरी सन्तुलित बजेटको प्रस्ताव गरेको छु । जसमध्ये चालुतर्फ ४४.१७ प्रतिशत र पूजीगततर्फ ५५.८३ प्रतिशत खर्च प्रस्ताव गरिएको व्यहोरा सम्मानित सभा समक्ष पुनः जानकारी गराउन चाहन्छु ।

४१. मैले प्रस्तुत गरेको बजेटको कार्यान्वयनबाट समृद्ध नगर सुखी नगरवासीको लक्ष्यलाई मुर्त रुप दिने गरी नगरवासीहरुको जीवनस्तरमा प्रत्यक्ष रुपमा गुणात्मक परिवर्तन एवं नगर सरकारको प्रभावकारिताको अभिवृद्धि भई नागरिकहरुले स्थानीय सरकारको सवल र प्रभावकारी उपस्थिति रहेको महसुस गर्ने छन् भन्ने विश्वास लिएको छु । प्रस्तुत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आम स्थानीयवासी र सरोकारवाला सम्पूर्णबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।

४२. यो बजेट तर्जुमा गर्दा मार्ग निर्देशन गर्नुहुने संघ तथा प्रदेश सभाका माननीयज्यूहरु नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरु, नगर कार्यपालिकाका सदस्यज्यूहरु, नगर सभाका सदस्यज्यूहरु, राजनीतिक दलका प्रतिनिधीज्यूहरु, सम्पूर्ण कर्मचारीहरु, टोल विकास संस्था, वुद्धिजीवी, नागरिक समाजका अगुवा, संघ संस्था, नीजि क्षेत्र, सञ्चारकर्मी लगायत सम्पूर्ण नगरवासीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
जगेश्वर देवी चौधरी
नगर उप–प्रमुख
मिति २०८२÷०३÷०९ गते

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.