
बुटवल । रुपन्देहीका नगरपालिकाहरुले आर्थिक वर्ष २०८०/२०८१ मा बेरुजु रकम घटाएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाले बेरुजु घटाएको महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको पछिल्लो प्रतिवेदनअनुसार बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/२०८१ को बेरुजु रकम ८ करोड ६४ लाख ६० हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १८ करोड ६ लाख ४१ हजार रहेको थियो । प्रतिशतको आधारमा बुटवलको आर्थिक वर्ष २०८०/८१ को बेरुजु रकम १ दशमलव ९१ प्रतिशत हो भने त्यसअघिको बेरुजु ८ दशमलव ०४ प्रतिशत हो । बुटवलको हालसम्मको बेरुजु ३३ करोड ८३ लाख ८३ हजार पुगेको छ ।
यसैगरी तिलोत्तमा नगरपालिकाको आर्थिक वर्ष २०८०/२०८१ को बेरुजु रकम ६ करोड ७ लाख ७३ हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ६ करोड २३ लाख २७ हजार रहेको थियो । प्रतिशतको आधारमा तिलोत्तमाको आर्थिक वर्ष २०८०/८१ को बेरुजु रकम १ दशमलव ३१ प्रतिशत हो भने त्यसअघिको बेरुजु २ दशमलव १९ प्रतिशत हो । तिलोत्तमाको बेरुजु हालसम्म ३३ करोड १७ लाख ५५ हजार पुगेको छ ।
रुपन्देहीका नगरपालिकामध्ये सिद्धार्थनगर नगरपालिकाको बेरुजु तुलनात्मक रुपमा बढी देखिन्छ । सिद्धार्थनगरको हालसम्मको बेरुजु रकम ८९ करोड ९४ लाख ४२ हजार पुगेको छ भने आर्थिक वर्ष २०८०/८१ मा मात्र पालिकाको बेरुजु ६ करोड ८९ लाख २३ हजार अर्थात् ३ दशमलव ४१ प्रतिशत रहेको छ । यसअघिको आर्थिक वर्षमा सो पालिकाको बेरुजु १० करोड८९ लाख ९७ हजार ३३ अर्थात् ८ दशमलव ५३ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
रुपन्देहीका नगरपालिकामध्ये सैनामैना नगरपालिकाले बेरुजुलाई घटाउँदै लगेको तथ्यांकले देखाउँछ । सैनामैनाको हालसम्मको बेरुजु ८ करोड ४२ लाख ३९ हजार मात्र छ । आर्थिक वर्ष २०८०/८१ म सैनामैनाको बेरुजु १ करोड ६७ लाख १ हजार अर्थात् शुन्य दशमलव ८२ प्रतिशत मात्र छ । यो रुपन्देहीका सबै पालिकाहरुमध्येकैं कम हो । यसअघिको आर्थिक वर्षमा सैनामैनाको बेरुजु ३ करोड ५० लाख ७१ ह्जार ९११ अर्थात् २ दशमलव ९५ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा जनाइएको छ ।
देवदह नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा ४ करोड १३ लाख ६४ हजार अर्थात् २ दशमलव १७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ४ करोड ५३ लाख २ हजार अर्थात् ३ दशमलव ७१ प्रतिशत बेरुजु रहेको थियो । देवदहको हालसम्मको बेरुजु २२ करोड ५८ लाख ८५ हजार पुगेको छ । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ८५ लाख ८८ हजार अर्थात् २ दशमलव ८४ प्रतिशत बेरुजु रहेकोमा त्यसअघिको वर्षमा ६ करोड ७४ लाख १५ हजार अर्थात् ४ दशमलव ८२ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनले जनाएको छ । लुम्बिनीको हालसम्मको बेरुजु रकम ३२ करोड १ लाख ३५ हजार पुगेको छ ।





