डिमानद्वारा विपदमा साथ नेपालीको हात अभियान चलाउने निर्णय

काठमाडौं । राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल ( डिमान) ले विपदका घटनामा परेकाहरुलाई सघाउन आफ्ना सदस्यहरुबाट एक- एक बोरा चामल संकलन गर्ने निर्णय गरेको छ । डिमानको बोर्ड बैठकले विपदका घटनाबाट अप्ठ्यारोको सामना गर्न बाध्य भएका परिवारहरुका लागि सघाउन सदस्यहरुबाट कम्तिमा एक बोरा चामल वा सो बरावरको रकम संकलन गर्ने निर्णय गरेको हो ।
सबैको ससानो सहयोगबाट सहज रूपमा व्यवस्थापन गर्न सकिने सामान्य विपदको घटनाहरूमा समेत वाह्य र विदेशी सहयोगको अपेक्षा गर्ने परीपाटीलाई निरुत्साहित गरि “विपदमा साथ नेपालीको हात “ भन्ने अभियान संचालन गर्न लागिएको डिमानले जनाएको छ ।
तत्काल राहत चाहिने अवस्थामा दातृसंस्था खोज्नुभन्दा पहिले आफैले सहयोग गर्न प्रयास गरौ भनेर कुनै पनि क्षेत्रमा विपद्को घटना घटेर अप्ठ्यारोमा परेका परिवारहरूको लागि तत्काल राहत सहयोग प्रदान गर्नको लागि वोर्ड सदस्यहरू र सदस्यहरूवाट कम्तिमा पनि १ बोरा चामल वा सो बराबरको रकम सहयोग गर्ने निर्णय गरिएको डिमानका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
स्वैच्छिक रूपमा सहयोग गर्न चाहने मनकारी मनहरू र सेवाभावी भएका मानिस तथा संघ संस्थाहरूले सहयोग गर्न चाहेमा डिमानले सम्पर्क गर्ने र सहयोगीहरुले पनि समन्वय गर्नसक्ने उहाँले बताउनुभयो ।
अप्ठ्यारोमा परेका व्यक्ति तथा परिवारलाई जसले जुनसुकै ठाउँमा विपद्को अवस्था हेरेर सहयोग गर्ने भावनाको विकास भए पीडितलाई तत्काल राहत पुग्ने निष्कर्ष डिमानको छ ।
विपद प्रभावित ठाउँमा स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिसंग समन्वय गरी सामाग्रीहरू वितरण गरिने र त्यो सबै पारदर्शी हुने पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.