तिलोत्तमालाई फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति


तिलोत्तमा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमैं वडा नं. १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०÷४० जनाको कोटा समेत निर्धारण गरेको छ ।
सिटिइभिटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार सिटिइभिटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । तिलोत्तमा नगरपालिकाले भवन सम्पन्न हुनुपूर्वदेखि नैं सम्बन्धनका लागि आवश्यक प्रक्रिया अघि बढाएको थियो । तर, सम्बन्धनको लागि प्रक्रिया अघि नबढेपछि तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख तथा हालका प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सिटिइभिटीमा सम्बन्धनका लागि निरन्तर पहल गर्दै आउनु भएको थियो । तिलोत्तमा नगरपालिकामा दुई कार्यकाल कार्यपालिका सदस्य रहनुभएका सुरेन्द्र श्रीले सिटिइभिटीको निर्णयसँगै तिलोत्तमा नगर क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुने विश्वास गर्नुभयो ।
सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल वा भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले तत्कालीन जनप्रतिनिधि र हालका जनप्रतिनिधि एवं सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनको विषयले सार्थकता पाउनु सबैको लागि खुशीको विषय भएको बताउनुभयो ।
नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको हो । तर, भवनको उचित संरक्षण नहुँदा झ्यालढोका फुटेका छन् भने भवन परिसर घाँसले ढाकेको छ । प्राविधिक कलेज सञ्चालन नहुञ्जेलसम्म भवनको संरक्षणका लागि वडा वा नगरपालिकाबाट आवश्यक निगरानी संयन्त्र बनाइनुपर्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.