बुटवल । कृषि उपजका सामाग्रीको सहज बजारीकरणका लागि स्थानीय हाटबजारहरुले वर्षौदेखि योगदान गर्दै आएका छन् । पछिल्लो समय शहरीकरण र मानवीय कार्यशैलीमा देखिएको फेरबदलले केही हदसम्म सुस्ताएका हाटबजारहरु हिजोआज थप व्यवस्थित बनाउन थालिएको छ ।
कतै सदियौंदेखिका हाटबजारहरुले निरन्तरता पाइरहेका छन् भने कतै हाटबजारहरु लोप हुँदै गएका छन् । कतिपय स्थानीय तहले तिनलाई फेरि व्युताउने र हाट बजारलाई किनमेलको व्यवस्थित माध्यम बनाउन थालेका छन् । स्थानीय सकारले हाट बजार व्यवस्थापनमा ध्यान दिएपछि साना तथा मझौला किसानहरूलाई र स्थानीय उपभोक्ताहरुलाई सहज पनि भएको छ ।
अहिले पनि धेरै ठाउँका नामहरु हाटबजार लाग्ने दिनबाटै बनेका छन् । बुधबारे, आइतबारे, मंगलबजार जस्ता नामहरु हाटबजार लाग्ने दिनहरुबाटो बनेका स्थानीयहरु बताउँछन् ।
हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको छ । हाटबजारहरुमा स्थानीय किसानले आफूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य सामाग्रीहरू बिक्री वितरण गर्न हाटबजारहरुमा पुर्याउने गरेका छन् ।
स्थानीय गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान, केरा, काक्रा, सुन्तला, नासपाती, सिमी र बोडी लगायतका तरकारी तथा फलफुल मात्रै होइन कुचो र नाङ्ला सहित दैनिक उपभोग्य वस्तु विक्री वितरण हाटबजारहरुमा हुने गरेको छ । हाटबजारबाट कृषकहरुको आर्थिक स्थिति सुधार्न सहयोग पुग्ने गरेको छ ।
सडक छेउ वा खुला चौरमा सञ्चालन हुने यस्ता हाट बजारका स्टलहरूमा स्थानीय तहहरुले निःशुल्क सामग्री वितरण कार्यक्रम आयोजना गर्ने गर्दै आएका छन् । तर सडक छेउमा राखिने हाटबजारहरु भने जोखिम क्षेत्र पनि बन्दै गएका छन् । खासरी शहरी क्षेत्रमा सडकमा राखिने हाट बजारमा दुर्घटनाको जोखिम बढ्ने हो ।
उत्पादक र उपभोक्तालाई वर्षौदेखि जोडिरहेछन् स्थानीय हाटबजारहरु
व्यवस्थित र सुरक्षित बनाउन भने आवश्यक





