यस्तो छ—तिलोत्तमा बहुउद्देश्यीय टावरको नालीबेली, किन चल्न सकेन, अब के हुन्छ ?

तिलोत्तमा । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण गरिएको बहुउद्देश्यीय टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकालाई पर्यटन मन्त्रालयले सहमति दिएको छ । मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानूनी अड्चन हटेको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत साझेदारी गरेको थियो । तर, साझेदारी अनुसार मन्त्रालयले बजेट उपलब्ध नगराएपछि टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणले पूर्णता पाउन सकेको थिएन । लागत साझेदारी भैसकेको क्षेत्रमा नगरपालिका एक्लैले पूर्वाधार निर्माण भुक्तानी गर्दा कानूनी अड्चन आउन सक्ने भएकोले नगरपालिकाले पर्यटन मन्त्रालयको सहमति खोजेको थियो । पर्यटन मन्त्रालयले असार २९ गते सचिवस्तरीय निर्णय गर्दै तिलोत्तमा नगरपालिकालाई सहमति दिएसँगै अब पर्यटकीय पूर्वाधार निर्माणका लागि कानूनी अड्चन हटेको नगर हो ।
तिलोत्तमा नगरपालिकाले टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड खर्च गरेको छ भने आगामी आर्थिक वर्षको लागि एक करोड विनियोजन गरेको छ । पर्यटकीय पूर्वाधार अन्तर्गत् टावर परिसरमा वाटर फाउण्टेन, स्वीम पूल, पार्किङ्ग, कम्पाउण्ड वाल, शौचालय, गार्डेन लगायतका संरचनाहरु पर्दछन् । यी पूर्वाधार बनाउन झण्डै ५ करोडको ठेक्का सम्झौता भएकोमा अधिकांश पूर्वाधार निर्माण सम्पन्न भैसकेका छन् भने मन्त्रालयको सहमतिसँगै ठेकेदारलाई भुक्तानी गर्न कानूनी अड्चन समेत हटेको छ । बाँकी संरचनाहरु आगामी आर्थिक वर्षमा निर्माण गरेर बहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण गरिएको बहुउद्देश्यीय टावर २०७८ चैत्र १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । टावर बनाउने समयमा अन्य पर्यटकीय पूर्वाधारको परिकल्पना नगरिएकाले टावर मात्र निर्माण गरेर नगरपालिकाले प्रत्येक वर्ष ३९ लाख ५० हजार बहाल पाउने गरी ठेक्कामा दिएको थियो । तर, ठेक्का पाएको कम्पनीले पर्यटकीय पूर्वाधारका काम निर्माण नभएसम्म टावर सञ्चालन गर्न नसक्ने जनाएपछि टावर अलपत्र परेको थियो । झण्डै ९ करोडमा जनताको करबाट बनेको टावर सञ्चालनमा नआउँदा सर्वत्र आलोचना भैरहँदा तत्कालीन नगर प्रमुख तथा हालका प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे समेतको सक्रियतामा मन्त्रालयले नगरपालिकालाई सहमति प्रदान गरेको हो । सहमतिले अब तिलोत्तमा नगरपालिकाले टावरमा पूर्वाधार निर्माणका काम आफैंले काम गर्न सक्ने कानुनी आधार निर्माण भएको हो ।
दश तले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलन्यास गर्नुभएको थियो । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, बातानुकुलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ । टावर सञ्चालनमा आएसँगै वनवाटिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । बहुउद्देश्यीय टावर सञ्चालनमा आएपछि नगरपालिकालाई नियमित आम्दानीको स्रोत समेत बन्नेछ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने जनाइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.