साउने सक्रान्ति- बोलबम जाने, लुतो फाल्ने र तिउरी लाउने पर्व

काठमाडौं । साउन १ गते । असार सकिएर साउन सुरु भएको पहिलो दिन नेपाली समाजमा लुतो फाल्ने साउने सक्रान्तिका रुपमा लोकप्रिय दिन हो । साउन महिनामा अत्यन्त वर्षा हुने भएकोले रोपाइँ सक्ने महिना पनि हो ।
यस्तै साउन महिनाका विभिन्न तिथिमा रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि छ । बोलबमधाममा पूजाआजा गर्ने प्रचलन पनि छ । साउन महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर जाने चलन छ । रुपन्देहीको सैनामैनास्थित बोलम धाम, धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ ।

पौराणिक व्याख्या अनुसार साउन महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ ।
श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधिक हुन्छ । त्यसमाथि रोपाइँदेखि मकै कोदोको गोडमेलदेखि कृषि कार्यमा असार महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिने समय सकिएको मानेर गर्मी र वर्षाको असरले छालासँग सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना रोक्न साउने सङ्क्रान्तिलाई लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।
गुल्मी पाल्पातिर नदी वा खोलापारीका गाउँबस्तीको नाम लिएर मेरो लुतो लैजा भनेर शरिरलाई देखाएको आगो वा त्यसको अगुल्टो फालेर मनाउने गरिन्छ ।
यसैगरी त्यस क्षेत्रमा तिउरी लगाउने पनि चलन छ । असार महिनामा धान रोपेर हिलोमैलो खेलेर हिलोले खाएका हातमा तिउरीको रस लगाउँदा हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्छ, किनकि यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले विभिन्न रोगबाट बचाउनुका साथै हातलाई सुन्दर बनाउन पनि मद्दत गर्छ । तिउरी लगाउँदा तिउरी फुल र काँचुली नामको वनस्पतिको पातलाई पिसेर गाभाको पातमा राखी हत्केलालाई हावा नछिर्ने गरी बाध्ने चलन छ । चरीअमिलो र भृङ्गीराज नामक वनस्पति मिसाएर पिसेर मसिनो बनाई हातखुट्टामा लगाउने प्रचलनलाई हिलोले खाएका हातखुट्टाको प्राकृतिक उपचारको रूपमा लिने गरिन्छ । आधुनिकतासँगै मेहन्दी लगाउने र महिलाहरुले हरिया चुरा लगाउने चलन छ ।
श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.