काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन ढोका बन्द गरिदिएको छ । एमालेले गणतन्त्रको प्रतिक भैसकेको व्यक्ति राजनीतिमा फर्कन नमिल्ने भन्दै अभिभावकको भूमिकामा बस्न आग्रह गरेको हो ।
मंगलबार मध्यरातसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक समापनका क्रममा मन्तब्य राख्दै पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कन उचित नहुने बताउनुभएको थियो । एमालेले भण्डारीको पार्टी सदस्यता नविकरण नै अवैध भनेर रोकिदिएको छ ।

एमालेको निर्णयमा भनिएको छं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपालको संविधानको भाग-६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको (२) मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको (३) मा राष्ट्रिय एकताको प्रवर्द्धन, सोही धाराको (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा-२६७ को (२) को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिवाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ। त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।
अध्यक्षको भनाइमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहितले असन्तुष्टि जनाएका थिए ।

विद्या भण्डारी एमालेको राजनीतिमा फर्कने विषयले पार्टीभित्र भने ध्रुविकरण बढ्दै गएको छ । स्वंय भण्डारीले पत्रकारहरुसँग आफू अघि बढिसकेको भन्दै पछि नहट्ने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीकी श्रीमती विद्या २०७२ कार्तिक ११ मा नेपालको व्यवस्थापिका-संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ।
पहिलो कार्यकाल सकिएपछि २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि पनि फागुन ३० देखि राष्ट्रपतिको कार्यभार सम्हालेकी भण्डारी २०७९ फागुन २८ देखि शितलनिवास छाडेर राजनीतिमा फर्किने घोषणा गरिसक्नुभएको छ । सरकारी सुविधा नलिने घोषणा गर्दै उनले सामाजिक र राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन्।
राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले २०७२ कात्तिक १० मा सो पदबाट राजीनामा दिएपछि एमालेले राष्ट्रपतिमा उम्मेदवार बनाएको थियो ।
पार्टी राजनीतिमा फर्कन विद्या भण्डारीलाई एमालेले गर्यो ढोका बन्द
आफू अघि बढिसकेको भन्दै पछि नहट्ने भण्डारीको घोषणा





