सामुदायिक वनका कार्ययोजना साझा समस्या मानेर छिटो परिमार्जन गर्न फेकोफनको आग्रह

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले समूहका कार्ययोजना परिमार्जनमा ढिलासुस्ती नगर्न र साझा समस्या ठानेर छिटो समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौमा आयोजना गरेको कार्ययोजनासम्बन्धी अन्तर्कृया कार्यक्रममा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले अहिले पनि झण्डै ५० प्रतिशत उपभोक्ता समूहहरुको कार्ययोजना नविकरण र परिमार्जन हुन नसक्दा दिगो वन व्यवस्थापन प्रणालीमै असर पर्न थालेको बताउनुभयो । उपभोक्ताले दैनिक आवश्यकताका लागि समेत वन श्रोत प्रयोग गर्न नपाउने अवस्था आउनु गम्भीर विषय भएको बताउँदै अध्यक्ष भण्डारीले रकम अभाव, जनशक्ति समस्या वा अरु कारण देखाएर कार्ययोजना परिमार्जनमा आनकानी नगर्न पनि वन मन्त्रालयलाई आग्रह गर्नुभयो ।
वनलाई पैसासँग मात्रै नजोड्न र त्यसको सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षलाई ख्याल गर्न आग्रह गर्दै सामाजिक एकता र नेतृत्व विकासमा सामुदायिक वनले निर्वाह गरेको भूमिकाको कुनै मुल्य नहुने बताउनुभयो ।
अध्यक्ष भण्डारीले उमेर पुगेका रुख निकाल्न फेकोफन तयार रहेको तर सर्पट कटान गरेर वातावरण र जैविक विविधतालाई नष्ट गर्ने कुरा स्वीकार नगर्ने प्रष्ट पार्नुभयो ।
सबैको साथ सहयोगले सामुदायिक वनबाट सम्वृद्दिको बाटोमा जान सकिने भन्दै अध्यक्ष भण्डारीले कार्ययोजना परिमार्जनबाटै त्यसको सुरुवात हुने बताउनुभयो ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुंगानाले सामुदायिक वनको कार्ययोजना संशोधन वा परिमार्जन जे गरे पनि अव नयाँ बनाउँदै जानुपर्ने भन्दै वन व्यवस्थान र आर्थिक सम्वृद्दिमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले सामुदायिक वनको कार्ययोजना नविकरण नहुनुलाई सबैले साझा समस्या मानेर अघि बढ्नुपर्ने बताउँदै ३० हेक्टर भन्दा साना सामुदायिक वनको संक्षिप्त कार्ययोजना बनाउनुपर्ने र त्यसमा के के राख्ने भनेर छलफल थालिहाल्नुपर्ने बताउनुभयो ।
फेकोफनका पूर्वअध्यक्ष तथा सल्लाहकार घनश्याम पाण्डेले नेपालमा सामुदायिक वन अभियानले फड्को मारेको बताउँदै नेपालको वन क्षेत्रबाट १० लाख व्यक्तिलाई रोजगारी दिन सकिने बताउनुभयो ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनन्जय लामिछानेले ७ हजारभन्दा धेरै सामुदायिक वनहरुको कार्ययोजना नविकरण र परिमार्जन हुन बाँकी रहेको जानकारी दिनुभयो ।
फेकोफनकी महासचिव पार्वता गौतमले कार्ययोजना नविकरणमा ढिलासुस्ती हुँदा वन विकास र उपभोक्ताको आवश्यकता परिपूर्तिमा पनि समस्या भैरहेको बताउनुभयो ।
त्यसअवसरमा दिगो वन व्यवस्थापन र सामुदायिक वन कार्ययोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै फेकोफनका कार्ययोजना कोर्डिनेटर डाक्टर अर्जुन चापागाइँले वनको अवस्थासँगै समुदायको परम्परा तथा ज्ञान र सिपसहित प्रथाजनित अभ्यासलाई समेत समेटेर कार्ययोजनामा राख्ने गरिएको जानकारी दिनुभयो ।
छलफलमा आरआरआइकी नेपाल प्रतिनिधि कमला थापा, आदिवासी जनजाती महासंघका पासाङ शेर्पा, कप्सन नेपालकी विना श्रेष्ठ, काभ्रेका डीएफओ कृष्णबहादुर थापा, डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत कमल आचार्य, फेकोफनका उपाध्यक्ष मोहमद कर खाँ, कोषाध्यक्ष शान्ता न्यौपाने, उपमहासचिव सिता श्रेष्ठ र सचिव डिल्ली गिरी लगायतले कार्ययोजना परिमार्जन नहुँदाको अवस्था र उपभोक्ताले भोग्नुपरेको समस्याबारे बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.