विद्यादेवी भण्डारी- पूर्वराष्ट्रपतिमा भन्दा एमालेको पूर्वउपाध्यक्षमा खुसी

दुई लाइन संघर्षका लागि तयार हुन आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भैसकेको भन्दै रोक्का राख्ने नेकपा एमाले पार्टीको निर्णयलाई ‘अपरिपक्व’ भन्दै आलोचना गर्नुभएको छ।
नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले गत असार १४ गते आफूले जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरेको दाबी र त्यसबारे पार्टी कार्यालय तथा नेताहरूलाई जानकारी गराइसकेको बताउनुभयो ।

‘मैले पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको अवस्था विवादमा पार्नुपर्ने विषय नै होइन,’ भण्डारीले क्यामेराले खचाखच भरिएको पत्रकार सम्मेलनमा भन्नुभयो, ‘तर पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको जानकारी सार्वजनिक गरेपछि म चुपचाप बसिरहनु् उचित ठानिनँ।’
उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटमा सदस्यता नवीकरण भइसकेको कुरा राखेँको, तर त्यसको भोलिपल्ट केन्द्रीय कमिटीको निर्णयविपरीत आएको भन्दै भण्डारीले आफू राजनीति गरेरै राष्ट्रपतिमा पुगेको र अब पुनःराजनीति गरेर देश र जनताको सेवा गर्न चाहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘म कुनै पदको लागि लालायित छैन, राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन्, ‘तर बाँकी जीवन पार्टी र राजनीतिमार्फत जनताको सेवामा समर्पित हुनेछ।’
पार्टीको निर्णयलाई ‘अपरिपक्व’ भन्दै भण्डारीले भन्नुभयो ‘जनताको बहुदलीय जनवाद (जबज) को मर्म अनुसार, निर्णय विवेकपूर्ण र व्यापक छलफलका आधारमा हुनुपर्छ। तर यस्तो निर्णयले पार्टीको साख र प्रतिष्ठा नै गिराउनेछ, ।’
भण्डारीले आफू ४५ वर्षदेखि पार्टीमा सक्रिय रहेको र एमालेको निर्माणमा रगत, पसिना र योगदान दिएको स्मरण गराउनुभयो ।
उहाँले दुई लाइन संघर्षका लागि तयार हुन आग्रहसहित एमाले नेता, कार्यकर्ता र सदस्यहरूलाई पनि अपील गर्दै भन्नुभयो । ‘जननेता मदन भण्डारीको विचार र जबजको मार्गदर्शनमा हामीले पार्टीलाई सशक्त, एकताबद्ध र सांगठनिक रूपमा मजबुत बनाउनु पर्छ। यतिबेला स्वार्थरहित निष्ठाको आवश्यकता छ ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.