मानसिक स्वास्थ्य योजना किताबमै सीमित नहोस् : मुख्यमन्त्री आचार्य

 

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ ।
राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको रणनीतिक योजना व्यवहारमा लागू गरेर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
‘अब काम भनेको परिणाम र उपलब्धिमा आधारित हुनुपर्छ । कागजमा मात्रै सीमित भएर कुनै अर्थ छैन,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘समीक्षा गर्दा हरेक सूचक तथ्यांकमा आधारित भएर गर्न जरुरी छ । जहाँ काम भएको छैन, त्यहाँ सुधार आवश्यक छ ।’
उहाँले सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई आधारभूत तहका वर्गमा केन्द्रित गर्न निर्देशन दिनुभयो । सामाजिक, मानसिक स्वास्थ्य लगायत सबै प्रकारका सचेतना अभियान गाउँबस्ती र विद्यालय तहसम्म पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘हाम्रो जनशक्ति गाउँ र बस्तीसम्म पुग्न जरुरी छ । तर हालसम्म सुविधा सम्पन्न स्थानहरूमा मात्रै कार्यक्रम केन्द्रित हुँदा नतिजा आउन सकेन,’ उहाँले भन्नुभयो,‘स्वास्थ्य, सामाजिक विकास तथा आन्तरिक मामिला मन्त्रालयबीच समन्वय र सहकार्यबिना प्रभावकारी परिणाम सम्भव छैन ।’ मानसिक स्वास्थ्य रणनीति योजनाको कार्यान्वयनकोलागि बहुसरोकारवाला पक्षको कार्यक्रम समुदाय केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री आचार्यको बिशेष जोड छ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले रणनीतिक योजना कार्यान्वयनमा अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त योजनाअनुसार नर्स तथा मनोसामाजिक परामर्शदाताहरूलाई आवश्यक तालिम प्रदान गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले मानसिक स्वास्थ्य परामर्श सेवा प्रभावकारी बनाउनेतर्फ अझ प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख सचिव बाबुराम अधिकारीले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मान्नुपर्नेमा जोड दिनुभयो ।‘जबसम्म मानसिक रूपले स्वस्थ हुँदैनौँ, तबसम्म अरू हिसाबले पनि स्वस्थ हुन सकिँदैन,’उहाँले भन्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वीस सरकारका प्रतिनिधिका रूपमा प्रतिज्ञा सिम्खडा, सिएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महत, स्वास्थ्य सेवा निर्देशक रोशनलाल चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको विषय प्रवेश तथा स्वागत उपसचिव नारायणप्रसाद पौडेलले गर्नुभएको थियो भने जनस्वास्थ्य प्रशासक उमेश गौतमले रणनीतिक योजना र त्यसको कार्यान्वयनबारे प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको सहजिकरण बरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक ईश्वरी केसीले गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.