काठमाडौं- आज साउन १५ गते । नेपाली परम्परा अनुसार साउन १५ मा खिर खाने चलन छ । साउने झरीको मध्य समयमा निकै पानी पर्ने र त्यो बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने मान्यतासहित साउन १५ मा खिर खाने चलन रहिआएको हो ।
वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा खाने साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा प्राचीन कालदेखि चल्दै आएको छ ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने संस्कृतिका जानकारहरु बताउँछन् ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
साउनमा गाउँघरमा खेतीपातीको अधिकांश काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस प्रसस्तै पाइने अनि गाई, भैँसीले पनि धेरै दूध दिने भएकोले इष्टमित्र तथा चेलीबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन पनि छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।
दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भन्दै राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खिर दिवसको शुभकामना दिँदै फेसबुकमा लेख्नुभएको छ- ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’





