काठमाडौं । भूमि समस्या समाधान आयोगसँग ११ लाख ३३ हजार ९६ परिवारले भूमि र लालपूर्जा मागेर निवेदन दिएका छन् ।
ती मध्ये अव्यवस्थित बसोबासी ८ लाख ७५ हजार १६४ परिवार हुन् । जग्गा माग्ने भूमिहीन सुकुम्बासीको परिवार संख्या १ लाख ६८ हजार ८८८ छ । यस्तै भूमिहीन दलित परिवारको संख्या ७९ हजार १४४ छ ।
यो बाहेक पुराना समिति र आयोगहरुमा परेका निवेदनहरुसहित जोड्दा १२ लाख १९ हजारभन्दा बढी परिवारले सरकारसँग जग्गा मागेकाहरुको तथ्यांक ८६ हजार ४०० परिवार रहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जानकारी दिनुभयो ।
सबै जोड्दा नेपालमा हाल सरकारसँग जग्गा माग्ने परिवारको संख्या १२ लाख १९ हजार ५९६ हुन आएको अध्यक्ष रिजालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बताउनुभयो ।
उहाँले जग्गा माग्ने भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन सरकारले आवश्यक नीति बनाउनुपर्ने र भूमि समस्या समाधान आयोगलाई सहजीकरण गरिदिनुपर्ने सुझाव पनि समितिमा दिनुभयो।
समितिमा भएको छलफलमा भूमिविज्ञ जगत देउजा लगायतले सरकारले प्रष्ट नीति बनाउनुपर्ने सुझाव दिुनभएको थियो ।





