केशव भण्डारी
काठमाडौं । साउन १६ गते सरकारको आव्हानमा राष्ट्रिय कोदो दिवस मनाउने गरिएको छ । केही वर्षअघिसम्म गाउँघरमा निकै प्रयोग हुने तर अधिकांशका लागि हेला जस्तै बनेको बहुउपयोगी कोदोको महत्व नेपालीहरुले बल्ल बुझ्दै गएका छन् ।
कुनै बेला गरीबले खाने रोटी र ढिंडोका रुपमा चिनिने कोदोका विभिन्न परिकारहरु हिजोआज तारे होटलदेखि राजमार्गका रेष्टुराँ तथा रिसोर्ट र होमस्टेमा स्वागतको व्यञ्जनका रुपमा राख्न थालिएको छ । कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ ।
यसबाट बियर पनि तयार हुन्छ । कोदोको रक्सीलाई घरेलु मदिराका रुपमा तिनपाने भन्ने चलन त उहिलेदेखिएकै हो । कोदोको नल पशुको लागि राम्रो घाँस पनि हो ।
यति धेरै गुणकारी कोदो के हो त ?
कोदो नेपाल र भारतमा उत्पादन गरिने एउटा महत्त्वपूर्ण खाद्यान्न हो। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्म यसको खेती गर्न सकिन्छ। यो देशका केही पहाडी भेकको एक प्रमुख खाद्यन्न हो।
मधुमेह (डायबेटिज)-को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी हुन्छ। यसमा क्याल्सियम, फस्फोरस र फलामको मात्रा प्रचुर हुन्छ। पहाडी भेकमा कोदो प्राय: रोटी र ढिँडो बनाएर खाइन्छ भने अचेल केक, मिष्टान्न वा मिठाइहरू बनाउन कोदोको प्रयोग गरिन्छ। उम्रिएको वा टुसा पलाएको कोदोबाट पेय पदार्थ बनाइन्छ अनि नानीहरूलाई खुवाइन्छ। यो गर्भवती महिलाको निम्ति उत्तम हुन्छ ।
किरा नलाग्ने अन्न
प्रायः नेपालमा कोदो मकैभित्र बहुबालीका रुपमा असार साउनमा रोप्ने र भदौतिर झार उखेलीदिने र कार्तिक मंसिरतिर बाली काट्ने गरिन्छ । कोदो खेती गर्दा परिश्रम भने कडा गर्नु पर्दछ । कोदो एक वर्षेबाली भएकाले छरुवा कोदो गोड्न निकै मेहनत गर्नु पर्दछ भने रोपुवा कोदो रोप्न पनि चर्को गर्मीमा सास्ती नै पर्छ । जेठको दोश्रो हप्ता देखि असारको पहिलो हप्ता भित्रमा कोदोको बीउ छर्ने उत्तम समय मानिन्छ ।कोदो पाकेपछि बाला र नल छुट्टा छुट्टै काट्नु पर्छ । बाला राम्ररी सुके पछि लठ्ठीले चुटेर अथवा गोरु घुमाएर कोदो माडिन्छ । नल काटेर सुकाउनु पर्छ । नल राम्ररी सुखे पछि ओभानो ठाउँमा राखेर पछि गाई वस्तुलाई घाँस बनाइन्छ । कोदो मात्र यस्तो अन्न हो जसमा घून र किरहरूले कुनै नोक्सान पुगाउन सक्दैन । यसलाई चिसो र सुखा ठाउँमा राख्यो भने धेरै वर्षसम्म बिग्रदैन ।
पोषक तत्व
विकिपिडियाका अनुसार कोदोमा निकै धेरै पौष्टिक तत्व पाइन्छ । प्रत्येक १०० ग्राम कोदोमा प्रोटिन ७.६ ग्राम, फ्याट १.५ ग्राम, कार्बोहाइड्रेट ८८ ग्राम, क्यालसिएम ३७० ग्राम,भिटामिन ०.४८ मिलिग्राम, थाइमिन (बि१) ०.३३ मिलिग्राम, राइबोफ्ल्याबिन (बि२): ०.११मिलिग्राम, नाइसिन(बि३) : १.२ मिलिग्राम र फाइबर: ३ ग्राम पाइन्छ।
कोदोका फाइदाहरू
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्दछ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ ।
यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुने चिकित्सकहरु बताउँछन् ।





