बुटवल । मध्य साउन कटेपछि देशका अधिकांश स्थानमा झरीले बर्खायामको आभास दिन थालेको छ । कतै बल्ल रोपाइँ भैरहेको छ भने कतै बाढी पहिरो र डुवानको जोखिम बढ्दै छ । लुम्विनी प्रदेशका धेरैजसो क्षेत्रमा तीन दिनेको पानीले सडक तथा विद्युत समेत अवरुद्द भएको छ ।

लगातारको वर्षाले सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा नजिकै पहिरो खसेर राजमार्ग अवरुद्द भएको छ । अबिरल वर्षापछि माथिबाट ढुंगा र माटो सहितको पहिरो खसेकोले दुवै तर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
सडक रोकिँदा पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा जाने सवारीहरु अलपत्र परेका छन् ।
यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकखण्ड पनि बन्द भएको छ । वर्षाका कारण यातायात ठप्प भएको हो । वर्षाका कारण विश्वकर्मा मन्दिर उकालोमा गाडी फस्दा सवारीसाधन रोकिएका प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात रोकिएको प्रहरीले जनाएको छ ।
यता वर्षाले बबई नदीमा जलस्तरले खतराको चिह्नभन्दा माथि पुग्ने खतरा देखिएको भन्दै बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीय प्रशासनले नदी स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कतासहित सुरक्षाकर्मी खटाएको छ।
बर्दियाको बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा जोखिम बढेको हो । ०७१ साउन २८ र र ०७४ साउन २९ मा बबईमा भीषण बाढी आउँदा ३४ जनाको ज्यान गएको थियो भने ९० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।





