बुटवल, भदौ १ । मुसिकोट लुम्बिनी सम्पर्क समाजको बैठकले आगामी दिनमा आयोजना हुने विभिन्न कार्यक्रमबारे निर्णय गरेको छ । बैठकले सर्वसम्मत रूपमा तीन महत्वपूर्ण निर्णय गरेको जानकारी अध्यक्ष तेज नारायण अर्यालले दिनुभयो । बैठकले संस्थाको प्रतीक चिन्ह (लोगो) बनाउनका लागि संयोजकको जिम्मेवारी बिमल छन्तेललाई तोकेको छ । त्यसैगरी, तीज मिलन तथा दर खुवाउने कार्यक्रम भदौ ४ गते बुधबार बेलुकी ६ः३० बजे बुटवल देविनगरस्थित अपाङ्ग आश्रम (रंगशाला पछाडि) मा आयोजना गरिने भएको छ । उक्त कार्यक्रमको संयोजक अनिषा कार्की केसी रहनु भएको छ । यस्तै, रक्तदान कार्यक्रम आगामी आश्विन ३ गते बुटवल रक्तसञ्चार केन्द्रमा बिहान ७ः३० बजे आयोजना गरिने भएको छ । यस कार्यक्रमको संयोजक लक्ष्मण पन्थलाई तोकिएको बैठकले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष अर्यालले समाजका गतिविधि मार्फत सामाजिक, धार्मिक र मानवीय कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।





