मुसिकोट समाजको अनुकरणीय कार्य, अपाङ्ग आश्रममा खुवायो दर


बुटवल । तीज पर्व नजिकिँदै गर्दा विभिन्न संघ–संस्था तथा सम्पर्क समाजहरूले होटल र पार्टी प्यालेसमा भव्य दर खाने कार्यक्रम आयोजना गर्ने क्रम बढिरहेको छ । तर, गत जेठमा मात्र स्थापना भएको मुसिकोट लुम्बिनी सम्पर्क समाजले भने फरक उदाहरण प्रस्तुत गरेको छ । समाजले बुटवल–११ देविनगरस्थित नेपाल अपाङ्ग आश्रममा आश्रित ४२ जनालाई दर खुवाउँदै नाचगान गरेर तीजको उल्लास साझा गरेको हो । समाजका अध्यक्ष तेजनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य खड्ग बहादुर केसी प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले यस्तो अवसरमा आश्रमलाई सम्झेर दर खुवाउनु निकै प्रेरणादायी कार्य भएको भन्दै समाजप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “आज हामीलाई समाजले दिएको यो मायाले आश्रममा बसोबास गर्ने बालबालिकाको मनमा पनि पर्व मनाउने खुशी जगाइदिएको छ ।”
प्रमुख अतिथि प्रदेशसभाका पूर्वसदस्य खड्ग बहादुर केसीले मुसिकोट लुम्बिनी सम्पर्क समाजको यो पहलले नयाँ सोच दिन सफल भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “तीज जस्तो पर्वमा हामीले पीडामा रहेका समुदायसँग खुसी साट्न सके मात्रै यसको सार्थकता हुन्छ । आश्रममा दर खुवाउनु र रमाइलो गर्नु निकै प्रशंसनीय कार्य हो ।” अपाङ्गता भएका व्यक्तिलाई राज्यको निकायले पनि ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै समाजका सल्लाहकार डा. बुद्ध बहादुर थापाले परम्परागत दर खाने कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोडेर आश्रममा दर खुवाउनु सिर्जनात्मक काम भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समाजले सुरु गरेको यस्तो अभ्यासले अन्य संघ–संस्थालाई पनि प्रेरणा दिनेछ । पर्व केवल मनोरञ्जन वा भोजको रुपमा मात्र सीमित नभई मानवीयता र सहअस्तित्वसँग जोडिनुपर्छ भन्ने सन्देश यसबाट स्पष्ट हुन्छ ।” समाजका अध्यक्ष तेज नारायण अर्यालले दर खाने कार्यक्रमलाई केवल आफ्नै बीचमा सीमित नगरी, अपांग तथा अभावग्रस्त समुदायसँग जोड्नु नै तीजको वास्तविक सन्देश भएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन समाजकी सहसचिव अनिषा केसीले गर्नुभएको थियो । कार्यक्रममा समाजका पदाधिकारी, सदस्य र स्थानीयको समेत उपस्थिति थियो । कार्यक्रममा आश्रममा बसोबास गर्ने बालबालिका तथा अपांग व्यक्तिहरूसँग समाजका सदस्यहरूले नाचगान गर्दै पर्वको उल्लास साझा गरेका थिए । वास्तवमा अहिले तीजमा पार्टी प्यालेसमा दर खाने चलनले बढी ठाउँ पाउँदै गर्दा मुसिकोट लुम्बिनी सम्पर्क समाजले भने अनाथ तथा अपांग आश्रममा पुगेर खुसी बाँड्नु समाजलाई दिने ठूलो सन्देश हो । यसले तीजलाई मात्र पर्वको रमाइलो नभई सामाजिक उत्तरदायित्व, सहानुभूति र सेवा भावनासँग जोडेर मनाउन सकिने देखाएको छ । यसरी फरक ढंगले गरिएको दर खाने कार्यक्रमले तीज पर्वको वास्तविक सारलाई उजागर गर्दै सबैलाई समाजमा रहेका विपन्न, अपांग तथा असहाय व्यक्तिहरूप्रति उत्तरदायी बन्न प्रेरित गरेको छ । मुसिकोट लुम्बिनी सम्पर्क समाजले देखाएको पहलकदमीले तीजलाई परम्परागत रमाइलोभन्दा पर, सामाजिक सहानुभूति र सेवा–भावनासँग जोड्ने महत्वपूर्ण अभ्यासको रुपमा लिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.