बुटवल । अखिल नेपाल महिला संघ (अनेमसंघ), बुटवल ७ ले बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । तीजको सांस्कृतिक, सामाजिक र प्रगतिशील पक्षबारे छलफल समेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य शिवराज सुवेदीले तीजलाई केवल नाचगानमा सीमित नराखी यसलाई महिलाको हक, अधिकार र समानताका विषयसँग जोडेर प्रगतिशील शैलीमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
परम्परागत पर्वलाई आधुनिक चेतना र सामाजिक रुपान्तरणसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले तीजले पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाको आत्मबल अभिवृद्धि गर्ने भएकाले यसको महत्व अझ बढेको चर्चा गर्नुभयो । सो अवसरमा एमाले बुटवल उपमहानगर अध्यक्ष सोभाखर पोख्रेल, रिषिराम पाण्डे ज्ञानु केसी, कल्पना थापा, विष्णु केसी उमाकान्त बस्याल ,सिता खनाल पुनम लिगल सीता थापा बसुन्धरा भुसाल लक्ष्मी अर्याल गायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरुले तीजलाई महिलाहरुको सामाजिक न्याय, अधिकार र समानताको पक्षमा जागरण अभियानको रुपमा उपयोग गरिनुपर्नेमा जोड दिएका थिए । अनेमसंघ बुटवल ७ का अध्यक्ष अम्विका पाण्डे को अध्यक्षता केशरा पौडेलको स्वागत सचिव कमला न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मौलिक ,प्रगतिशिल तिजगित तथा नृत्य प्रस्तुत गरीएको थियो ।





