लायन्स क्लब अफ बुटवल चौतारीको ९ औं चार्टर सेलिब्रेसन अनाथ आश्रममा बालबालिकासँग

तिलोत्तमा । लायन्स क्लब अफ बुटवल चौतारीले आफ्नो नवौं चार्टर सेलिब्रेसन विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । यसैक्रममा क्लवले शुक्रबार तिलोत्तमा–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई जुत्ता तथा झोला वितरण गरेको छ । आश्रममा आश्रित २३ जना बालबालिकाहरुलाई उनीहरुको आवश्यकताको आधारमा जुत्ता तथा झोला वितरण गर्नुको साथैं खाना समेत खुवाइएको क्लवका अध्यक्ष हिमलाल न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डाइरेक्टर नाजमुल हक तथा विशिष्ट अतिथि डिष्ट्रिक गर्भनर बालराम भट्टराईले आश्रमका संरक्षक कृष्ण ज्ञवाली तथा बालबालिकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि हकले लायन्स क्लवले सामाजिक कार्यमा पुर्याएको कामको चर्चा गर्दै नयाँ सदस्य र क्लव वृद्धि गर्न लायनहरुलाई आग्रह गर्नुभयो । यस्तै डिष्ट्रिक गर्भनर भट्टराईले लायन्स क्लव अफ बुटवल चौतारीले समाजसेवालाई प्राथमिकतामा राख्दै आएको चर्चा गर्दै थप रचनात्मक कार्यको शुभकामना व्यक्त गर्नुभयो । लायन्स क्लब अफ बुटवल सिद्धबाबाको स्पोन्सरमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सहभागी लायन्स सदस्यहरूले बालबालिकासँग संवाद गर्दै उनीहरूको आवश्यकतालाई बुझ्ने प्रयास समेत गरेका थिए । क्लबका पदाधिकारीहरुले अनाथ र अभिभावकविहीन बालबालिकाको शिक्षादेखि आधारभूत आवश्यकतासम्ममा सहयोग पुर्याउनु नै समाजको ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ पि, एरिया ४ अन्तर्गतको यो क्लबले आफ्नो स्थापना कालदेखि नै सामुदायिक सेवामा सक्रिय भूमिका खेल्दै आएको छ । विशेषगरी मानवतावादी सहयोग, स्वास्थ्य सेवा र शैक्षिक सामग्री वितरणलाई प्राथमिकतामा राख्दै क्लबले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । नेपाल अविनाश अनाथ आश्रममा आयोजित कार्यक्रमले आश्रममा आश्रित बालबालिकामा उत्साह थपेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले अनाथ र असहाय बालबालिकाहरूलाई सहयोग गर्नु मात्र सामाजिक दायित्व नभई मानवीय कर्तव्य पनि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लवका अध्यक्ष हिमलाल न्यौपानेको अध्यक्षता, सचिव खिमानन्द खनालको सञ्चालन रहेको कार्यक्रममा पाष्ट प्रसिडेन्ट कृष्ण शर्मा पोखरेल, माधव खनाल, चार्टड प्रेसिडेन्ट लुकराज न्यौपाने लगायतले बोल्नु भएको थियो । क्लवका द्धितीय उपाध्यक्ष नृप फौदारले संयोजन गर्नुभएको कार्यक्रममा आश्रममा आश्रित बालबालिकाहरुका लागि प्रदान गरिएको जुत्ता तथा झोला लायन राजु भण्डारी र माधव खनाल तथा खाना लायन लक्ष्मण घिमिरेले सौजन्य गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.