
तिलोत्तमा । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले विभिन्न विकास साझेदारसँगको सहयोगमा सञ्चालन गरेको ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’ को बारेमा सोमबार मणिग्राममा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । परियोजना अन्तर्गत् एक वर्षमा भएका कामको समीक्षा तथा दोस्रो वर्षमा सञ्चालन हुने कार्यक्रमको बारेमा सम्बद्ध पक्षलाई जानकारी गराउन अभिमुखीकरण गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोवीसहित अधिकांश पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै जनस्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, भेनेटनरी अस्पताल, प्रहरी कार्यालय लगायत सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले पनि कार्यक्रममा सहभागी जनाएका थिए ।
गोष्ठीका सहभागीहरुले रुपन्देहीमा पोषणको अवस्था सुधारमा परियोजनाले सञ्चालन गरेका कार्यक्रम निकै फलदायी रहेको चर्चा गर्दै बालबालिकामा कुपोषण हुन नदिन सचेतना अभिवृद्धि र कुपोषण देखिएकाहरुलाई उपचारको दायरमा ल्याउन थप रचनात्मक काम गर्न सुझाव दिएका छन् । ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’ सबैको साझा परियोजना भएको बताउँदै सहभागीहरुले यो परियोजनाको सफल कार्यान्वयनमा सबै पालिका तथा सम्बद्ध कार्यालयको दरिलो साथ, सहयोग रहने स्पष्ट पारे । रुपन्देहीमा मध्यम खालको कुपोषण समस्या बढी रहेकाले कुपोषणको चक्र तोडेर बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक विकासका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा परियोजनाको बारेमा जानकारी गराउँदै सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको तर्फबाट कार्यकारी निर्देशक सुमित्रा शर्मा र परियोजना संयोजक चेतना ज्ञवालीले १२ देखि २३ महिनाका बालबालिकामा कुपोषणको समस्या बढी रहेको र तीमध्ये धेरैजसो बालिका रहेको जानकारी गराउनुभयो ।
परियोजना साझेदार संस्था हेलेन केलर इन्टरनेशलका प्रोजेक्ट म्यानेजर श्रीस सिंहले परियोजनाअन्तर्गत् रुपन्देहीमा चालु आर्थिक वर्षमा ६० हजार बढी पाँच वर्ष मुनिका बालबालिकाको पोषण स्क्रिनिङ्ग गरिने जानकारी गराउँदै पोषणको बारेमा मेरो पोषण साथी मोबाइल एप पनि सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।
यस्तै अर्को परियोजना साझेदार संस्था आईडीआईका क्षेत्रीय संयोजक सुमन श्रेष्ठले कुपोषण विरुद्धको अभियान कृषि तथा खाद्य क्षेत्रसँग पनि जोडिएको बताउँदै पोषण सुधारका लागि कृषिमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन टिकाराम अधिकारीले कतिपय अवस्थामा खानेकुरा पर्याप्त भए पनि खाने तरिका नमिलाउँदा कुपोषणको समस्या देखिएको बताउँदै ख्याउटेपन, पुड्कोपन, तौलको कमी, रक्तअल्पता कुषोषणसँग देखिने गरेको बताउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोवी, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख डा. परवेज आलम, स्वास्थ्य कार्यालयका प्रमुख उमा थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीलगायतले कुपोषणको हटाउन यसको बारेमा व्यापक बहस हुनुपर्नेमा जोड दिनुभयो । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कोषाध्यक्ष गौमती सुनारको धन्यवाद तथा प्रदीप पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो ।





