तिलोत्तमा । गुल्मी दिगाम—रुपन्देही सम्पर्क समाजले प्रशासन सेवामा कार्यरत तीन जना राष्ट्रसेवक कर्मचारीलाई बधाई सहित सम्मान गरेको छ । गुल्मीको दिगाम जन्म घर भएका उनीहरुलाई आज तिलोत्तमामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने, बुटवल—गोरुसिङ्ग—चन्द्रौटा सडक विस्तार आयोजना प्रमुख कुशलता न्यौपाने र मालपोत कार्यालय नवलपरासीका प्रमुख दामोदर भण्डारी रहनु भएको छ । दिगाम जन्म घर भएर समाजमा विशिष्ट योगदान गर्नेहरुलाई सम्मान तथा उत्प्ररित गर्ने समाजको नीतिअनुसार नेपालको प्रशासनिक क्षेत्रमा योगदान गर्नुभएका तीन जनालाई यस पटक सम्मान गरिएको समाजका अध्यक्ष केशवराज पन्थले जानकारी दिनुभयो । 
कार्यक्रममा सम्मानित राष्ट्रसेवक कर्मचारीहरुले आफू कार्यरत कार्यालयको कार्य प्रगतिको बारेमा जानकारी गराउँदै प्रशासनिक क्षेत्रमा जनमैत्री भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भैरहवा भन्सार कार्यालय नेपालको दोस्रो ठूलो भन्सार कार्यालय रहेको जनाउँदै नेपाल प्रवेशद्धारलाई व्यवस्थित बनाउने काममा आफू लागि परेको बताउनुभयो । यस्तै बुटवल—गोरुसिङ्ग—चन्द्रौटा सडक विस्तार आयोजना प्रमुख कुशलता न्यौपाने हालसम्म योजनाको १३ प्रतिशत भौतिक प्रगति भएको जानकारी गराउँदै दशैं लगत्तै सडक निर्माणले गति लिने जानकारी गराउनुभयो । मालपोत कार्यालय नवलपरासीका प्रमुख दामोदर भण्डारीले जनमुखी भएर सेवा प्रवाहमा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष टिकाराम न्यौपाने, न्यू होराइजन स्कूलका प्राचार्य लोकनाथ उपाध्याय, समाजका सल्लाहका फर्सुराम पन्त लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष केशवराज पन्थको अध्यक्षता, सचिव भुपेन्द्र पन्थको सञ्चालन तथा उपाध्यक्ष कृष्णप्रसाद न्यौपानेको स्वागतमा कार्यक्रम भएको हो ।





