बुटवल । मुसिकोट लुम्बिनी सम्पर्क समाजको आयोजनामा शुक्रबार बुटवलमा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रहेको कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य रहेको थियो । सह–प्रायोजक प्रेम बहादुर रायमाझी (सचिव –मुसिकोट लुम्बिनी सम्पर्क समाज) र गुल्मी कालिका टुर एण्ड ट्राभल्स रहेको कार्यक्रममा सह–आयोजक गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाज, रुपन्देही–गुल्मी, मुसिकोट सम्पर्क समाज, गुल्मी पौंदेली सम्पर्क समाज रुपन्देही, गुल्मी आँपचौर रुपन्देही सम्पर्क समाज, आकांक्षा टुर एण्ड ट्राभल्स प्रा.लि., कुर्घा रुपन्देही रायमाझी एकता समिति, हिखारी पाथ एजुकेशनल कन्सल्टेन्ट, लायन क्लब अफ लुम्बिनी ब्लड डोनर्स सह–आयोजकको रुपमा रहेका थिए । कार्यक्रममा समाजसेवी, विद्यार्थी, स्थानीयबासी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने थियो । संविधान दिवसको अवसरमा समाजले कार्यक्रम आयोजना गरेको हो । समाजका अध्यक्ष तेजनारायण अर्यालले मुलुकको परिवर्तित सन्दर्भमा रगतको माग समेत बढेको सन्दर्भलाई ख्याल गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवका डिष्ट्रिक सेक्रेटरियट एडभाइजर लायन माधव प्रसाद खनालले समाजले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै महिलाको पाठेघरको क्यानसर परीक्षण शिविर सञ्चालन गर्न क्लवले सहयोग गर्ने बताउनुभयो । यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महिमालाई ग्रामीण स्तरसम्म पुर्याउनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष तेजनारायण अर्यालको अध्यक्ष, उपाध्यक्ष भीमकान्त घिमिरेको स्वागत, सचिव प्रेमबहादुर रायमाझीको सञ्चालनमा भएको कार्यक्रममा समाजका सल्लाहकार मृगेन्द्र रिजाल, कार्यक्रम संयोजक लक्ष्मण पन्थ लगायतले रक्तदानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । गत जेठ १७ गते गठन भएको समाजले अपाङ्ग आश्रममा दर खुवाउने, मानव सेवा आश्रममा खाना खुवाउने लगायतका सामाजिक कार्य गर्दै आएको छ ।





