बुटवलको जीतगढीमा सराय नाच प्रदर्शन हुने

बडादसैंको अवसरमा यो वर्ष पनि बुटवलको जीतगढीमा सराय नाच प्रदर्शन हुने भएको छ । नेपाली विरताको गाथासँग जोडिएको ऐतिहासिक जितगढीमा यहीँ असोज २० गते सराय नाच प्रदर्शन गरिने जितगढी सराँय नाच व्यवस्थापन समितिले जनाएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान लगायतका लुम्बिनी प्रदेशका पहाडी जिल्लामा प्रसिद्ध सराँय नाच जितगढीको दुर्गामन्दिर परिसरमा देखाउन थालिएको हो । टीकाकै दिनदेखि पहाडी जिल्लाका शक्तिपीठ तथा कोटहरूमा सराय नाच्ने परम्परा छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पहाडी जिल्लाबाट बसाइँ सरेर आएकाहरूले सरायँ नाच देखाउने परम्परालाई निरन्तरता दिएको जितगढी सराँय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । अर्घाखाँचीको अर्घा सराय नाचका लागि बढी प्रसिद्ध छ । गुल्मीको इस्मासहितका हरेक कोटहरूमा दसैंैदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । लोप हुन लागेको संस्कृति बचाउनका लागि बुटवलमा वडादशैंको पूर्णिमाको अघिल्लो दिन जितगढी र कोजाग्रत पूर्णिमाको दिन देवीनगरमा सराय नाच हुँदै आएको छ । जीतगढीमा आयोजना हुने सराँय नाचमा यो वर्ष नेपाली सेनाको समेत प्रस्तुति रहने समितिका कोषाध्यक्ष महेश पोखरेलले जानकारी दिनुभयो । विजय उत्सवसँग जोडिएको यो नाचमा हतियार प्रदर्शन गरेर वाख्खै हो…को तालमा नाच्ने गरिन्छ । सरायं नाच विजयउत्सव संग जोडिएकाले यसलाई वीरताको गाथा बोकेको जितगढीमा आयोजना गर्ने परम्परा बसालिएको समितिका सचिव पिताम्बर भण्डारीले बताउनुभयो । जीतगढीमा विगत १० वर्षदेखि सरायँ नाच प्रदर्शन हुँदै आएको छ । सरायँ हेर्न रुपन्देही, कपिलबस्तु र नवलपरासीबाट ठूलो संख्यामा मानिसहरु जीतगढी आउने गर्छन् । सराँय नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको आयोजकको भनाइ छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.