एकदेव आले स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न

बुटवल, रुपन्देही — एकदेव आले स्मृति प्रतिष्ठान नेपाल, बुटवल–१२ रुपन्देहीको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा प्रतिष्ठानका अध्यक्ष रामलाल काफ्लेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम महासचिव दिनेश भुषालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष लोकनाथ भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भूमि तथा सहकारी मन्त्री दिनेश पन्थी प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र)का नेता बामदेव क्षेत्री विशेष अतिथिका रूपमा उपस्थित थिए।
मन्त्री पन्थीले भारतमा रहँदा आफूले गरेका अधिकार प्राप्तिका आन्दोलनको स्मरण गर्दै प्रवासी नेपालीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रवासी नेपालीहरूको आन्दोलनले नेपालमा भएका राजनीतिक परिवर्तनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।
त्यसैगरी, माओवादी नेता बामदेव क्षेत्रीले भारतमा रहेका नेपालीहरूलाई विभिन्न बहानामा दुख दिने प्रवृत्ति अझै कायम रहेको बताउँदै त्यसको विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सल्लाहकार लक्ष्मण रायमाझी, एमाले नेता कुमार थापा, विष्णुहरि शर्मासहित विष्णुभक्त सिग्देल, एमाले नेता गिरधारी न्यौपाने र पी.एल. श्रेष्ठ लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो।
बक्ताहरूले तनहुँको माडीमा जन्मिएका स्व. एकदेव आलेले भारतमा रहँदै नेपालका तर्फबाट भारतीय स्वतन्त्रता संग्राम र राणा शासनविरुद्ध संघर्ष गर्नुका साथै पाल्पाको जेल ब्रेक र किसान आन्दोलनको नेतृत्व गरेका उल्लेख गर्दै उहाँले “जसको जोत उसकै भोग” जस्ता जनपक्षीय नारा दिएर आम जनताको पक्षमा ऐतिहासिक योगदान गर्नुभएको स्मरण गर्नुभएको थियो।
उहाँहरूले स्व. आलेजस्ता कम्युनिस्ट आन्दोलनका धरातली योद्धाको योगदानलाई राज्यले आधिकारिक रूपमा सम्मान गर्नुपर्नेमा जोड दिँदै, यस्तो अभियानले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले प्रवासी नेपालीहरूले भोगेका समस्या समाधान र उनीहरूको सीप, अनुभव तथा लगानीलाई देशको विकासमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.