बुटवल/कार्तिक ३० – सामुदायिक वनको संरक्षणमा समुदायको अतुलनीय योगदान भए पनि अव्यवहारिक ऐन कानुनका कारण वन व्यवस्थापन जटिल बनेको गुनासो सरोकारवालाहरूले गरेका छन्। सामुदायिक वनको ढलापडा काठ समेत सदुपयोग गर्न नपाउँदा ठूलो मात्रामा वन पैदावार खेर गइरहेको उनीहरूको भनाइ छ । बुटवल सामुदायिक वन उपभोक्ता समूह( १–२)को १९ औँ वार्षिक साधारण सभामा वक्ताहरूले वनबाट समुदायले यथोचित लाभ लिन नपाएकोमा असन्तुष्टि व्यक्त गरका हुन । 
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले वनका ऐन नियमहरू व्यवहारिक नभएको स्पष्ट पार्नुभयो। उहाँले बुटवलको ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस वनको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो।
“सुकेका र ढलापडा रुखहरू समेत समयमै व्यवस्थापन गर्न नपाउँदा काठ–दाउरा कुहिएर खेर गइरहेको छ । यसले समुदायलाई लाभबाट वञ्चित गरेको साधारण सभाका वक्ताहरूले बताएका छन ।
बुटवल सामुदायिक वनका अध्यक्ष बावुराम पौडेलले वन संरक्षणमा सबैको सहयोगको आवश्यकता औंल्याउँदै यस वनको विकासले बुटवल शहरलाई स्वच्छ, हराभरा र रमणीय बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
साधारण सभाले अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनलाई सुझावसहित सर्वसहमतिले पारित गरेको छ। कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष नरेन्द्र बस्नेत, २ का अध्यक्ष सुनिल शाक्य, असोक राइ गौतमलाल शाक्य सब डिभिजन सैनामैनाका कार्यालय रेन्जर प्रकास भट्टराई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिनानाथ शर्मा लगायत १५० भन्दा बढी उपभोक्ताहरूको उपस्थिति थियो ।





