२७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन बुटवलमा सम्पन्न
पौष
सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको २७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन बुटवलमा सम्पन्न भएको छ । प्रारम्भिक बालविकास र यससँग सम्बन्धित पोषण स्वास्थ्य तथा सरसफाइमा क्रियाशील सेतो गुराँसले साधारणसभा तथा अधिवेशनसँगै सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित सरकारी अधिकारीहरु, विभिन्न विद्यालय, विकास साझेदार संघ—संस्थाका पदाधिकारी तथा प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रमका वक्ताहरुले शिक्षा, स्वास्थ्य, किशोरी सशक्तिकरण र जीविकोपार्जन, कृषि, वातावरणको क्षेत्रमा क्रियाशील रही अवसरविहीन बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले सञ्चालन गरेका परियोजनाहरु सहयोगी बनेको बताएका थिए । सरकारी लक्ष्य पूरा गराउन विभिन्न निकायसँगको सहयोगमा सेतो गुराँसले सीमान्तकृत वर्गको उत्थानलाई प्राथमिकता दिएको बताउँदै कार्यक्रमका सहभागीहरुले सञ्चालित परियोजनालाई थप सुदृढ बनाउन सुझाव दिएका थिए ।

त्यसअवसरमा नेपाल सरकारका सचिव निर्मला अधिकारी भट्टराईले जनसरोकारका विषयमा निरन्तर पैरवी गदै जीवन उपयोगी शिक्षा प्रवर्धन गर्ने अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै विद्युत् नियमन आयोगका सदस्य मधुसुधन अधिकारीले सामाजिक सशक्तिकरणको क्षेत्रमा सेतो गुराँसले सञ्चालन गरेका कार्यक्रम अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
यस्तै साझेदार संस्था किडाशाका एसोसिएट डाइरेक्टर कृपासुर निरौलाले पारदर्शितालाई संस्थाले ध्यान दिएको बताउँदै निरन्तर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
साधारणसभामा प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष ओमीकला गाहा पुनले संस्थाले लुम्बिनी प्रदेशको बालविकास रणनीतिको मस्यौदामा आवश्यक सहयोग गरिरहेको र यसलाई पूर्णता दिनका लागि पहल र पैरवी भैरहेको जानकारी गराउनुभयो ।
यस्तै कार्यकारी निर्देशक सुमित्रा शर्माले सीमान्तकृत समुदायको शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा पहुँच पुर्याउन सरकारी निकायसँगको सहकार्यमा हाल विभिन्न पालिकामा ८ वटा परियोजना सञ्चालन भैरहेको जानकारी गराउनुभयो ।
पत्रकार कल्पना तिवारीले संस्थाको सामाजिक परीक्षण प्रस्तुत गर्नुभएको कार्यक्रममा सचिव मञ्जु श्रेष्ठले संगठनात्मक प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा संस्थाले सञ्चालन गरेका कार्यक्रममा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्नुको साथैं संस्थाको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको २७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले उमा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मन्जु श्रेष्ठ सचिव गोमती सुनार गहतराज
कोषाध्यक्ष रमा थापा सहनु भएको छ । सदस्य हरुमा कमल न्यौपाने कल्पना थापा मगरश्री मनिषा पौडेल ज्योती यादव जै कुमारी थापा रहनु भएको छ ।





