नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, लुम्बिनी प्रदेशको सातौं साधारणसभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभामा लुम्बिनी प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीका प्रतिनिधिहरूको साथै विभिन्न व्यवसायिक तथा सामाजिक संघ संस्था प्रमुख, प्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले पछिल्लो समय प्रविधिको विकास र बढ्दो डिजिटलाइजेशनका कारण छापा पुस्तकको बजार खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गर्दै पठन संस्कृतिको विकास गरिनुपर्नेमा जोड दिएका थिए ।
पुस्तक तथा स्टेशनरी व्यवसायीहरू व्यापारी मात्र नभई ‘शिक्षाका संवाहक’ भएकोले उनीहरुका समस्याप्रति राज्य जिम्मेवार हुनुपर्ने बताउँदै वक्ताहरुले स्पष्ट नीतिको नहुँदा व्यवसायीहरूले अनेकौं झमेला व्यहोर्नु परेको स्वीकार गुनासो गरे ।

नीतिगत अस्पष्टता, विद्यालयका पाठ्यपुस्तक समयमै उपलब्ध नहुनु, दर्ताविना मौसमी पसल चलाइनु लगायतका कारण साना व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको भन्दै वक्ताहरुले यसप्रति राज्यले ध्यान पुर्याउनुपर्ने संघका प्रदेश अध्यक्ष हेमानन्द शर्माक बताउनुभयो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले चुनौतीका बाबजुद आधुनिकतालाई स्वीकार गरेर व्यवसायीहरु अगि बढ्नुपर्ने बताउनुभयो । व्यवसायीले गुणस्तरीय सामानको बिक्रीलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै पाण्डेले जुनसुकै व्यवसायमा पनि स्वस्थ प्रतिस्पर्धा मात्र हुनुपर्ने बताउनुभयो ।
यस्तै महासंघका पूर्वअध्यक्ष मनहरी बस्यालले पुस्तक तथा स्टेशनरी व्यवसायमा देखिएका समस्या समाधानमा महासंघले नीतिगत पैरवी गर्दै आएको जानकारी गराउँदै व्यवसायीहरु टिक्ने अवस्थालाई कायम राख्नु अहिलेको पहिलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष नवनिधि पन्त, सल्लाहकार दिवाकर घिमिरे, संघका प्याप्सन रुपन्देहिका अध्यक्ष दिपक खनाल, पूर्वअध्यक्ष बसन्त लामिछाने, प्रदेश उपाध्यक्ष सालिक सुवेदि, दिपक पाठक, भैरव रावल ,अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, संघका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरु, संघका प्रेस सल्लाहकार केशव भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघका प्रदेश अध्यक्ष हेमानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज व्यवसायी देवीप्रसाद गुप्ता संस्थापक अध्यक्ष बसन्त लामिछाने ,अध्यक्ष भैरव रावल तथा संघलाई सहयोग र योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएकोे द्धितीय उपाध्यक्ष केशव श्रीसले जानकारी दिनुभयो ।





