बुटवलका  सहकारी पीडितको व्यथाः रकम फिर्ता मागे गालीगलौज खेप्नुपर्ने डर

 

रास्वपा सभापतिसहितका नेताहरु हजारौं वचतकर्ताको रकम दुरुपयोगमा जोडिएपछि उम्मेदारलाई जवाफ दिनै सकस
बुटवल ।
बुटवलको सुप्रिम सहकारी पीडितहरु यति शिथिल भएका छन् कि, अब रकम फिर्ता माग्यो भने गालीगलौज खेपेर सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न छाडेका छन् । यो सहकारीमा एकै जना व्यक्तिले दुई करोडसम्म बचत फिर्ता पाएका छैनन् । उनीजस्ता धेरै जनाको रकम वर्र्षैदेखि अलपत्र पारिएको छ ।  बुटवलका स्थापित व्यवसायीहरु यस्तो पीडामा परेपनि अहिले बोल्न समेत छाडेका छन् । यसका पीडितमध्ये थोरै रकम जम्मा भएकाहरुलाई चुप लगाएर अरुलाई दबाब दिन थालिएको पीडितहरुले बताएका छन् ।
एक जना स्थापित व्यवसायी जसले सुप्रिम सहकारीमा बचत गरेको ३५ लाखभन्दा बढी रकम गुमाउनु परेको छ  तर उनले अचेल उक्त विषयमा बोल्न नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
‘धेरै नेता गुहारियो, सरकारलाई गुहारियो, बोलेर थाकियो अब शान्त बस्नुनै ठिक ।’–सहकारी गठीमा परिरेहका ती व्यवसायीले सञ्चारकर्मीहरुसँग समेत अनकनाउँदै भने, ‘अहिले त आफूले पाउनुपर्ने सहकारीको रकम माग्दा पनि सामाजिक बहिस्कारमा पर्ने हो कि भन्ने डर पो छ, त्यसैले मेरो नाम उल्लेख नगर्नुहोला ।’ बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको मुद्दामा सहकारीका अध्यक्ष ओम गुरुङ अहिले पनि भैरहवास्थित कारागारमा छन् भने उक्त मुद्दामा मुछिएका रवि लामिछाने रास्वपाको सभापति भएर चुनावमा भोट माग्दै देश दौडाहामा व्यस्त छन् । रास्वपा सभापति लामिछानेसँग जोडिएको सुप्रिम सहकारीका पीडितले यस बारेमा सामाजिक सञ्जालमा केही लेखे वा बोलेमा सिङ्गो समाजनै उनीहरुमाथि खनिने डरले नै बोल्न छाडेको बताउँछन् ।
बुटवलमा गठन भएको सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चिर्वाचनमा उम्मेदवार भएका हरेक नेताहरुलाई ध्यानाकर्षण गराइएको छ । सहकारीको रकम फिर्ता माग्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली काँग्रेसका नेता चुन्नप्रसाद पौडेल, एमाले नेता बासुदेव घिमिरे, राप्रपाका उम्मेदवार गौरव बोहोरा, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेय लगायतका नेताहरुलाई समितिले ध्यानाकर्षण पत्र बुझाइसकेको छ । यति मात्र होइन सहकारी ठगी मुद्दामा जोडिएका रवि लामिछानेको पार्टी रास्वपाका तर्फबाट रुपन्देहीमा उम्मेदवार बनेका सुलभ खरेल, लेखजंग थापालगायतलाई समेत समितिले ध्यानाकर्षण पत्र बुझाएको नेपाल बताउँछन् । सहकारीको रकम फिर्ताको विषयमा रास्वपा उम्मेदवार खरेलले अहिले फागुन २१ सम्म निर्वाचनमा व्यस्त भएको र त्यसपछि मात्रै पहल गर्ने टालटुले जवाफ दिएर पीडितहरुलाई फर्काएका छन् ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख ८४ हजार विगो दाखिल गरेर अहिले बाहिर रहेका छन् । यद्यपि मुद्दाको छिनोफानो लाग्नैछ । रविविरुद्ध रुपन्देहीसहित कास्की, काठमाडौं, चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन नै छन्।
तिलोत्तमाको शंकरनगर बस्ने ५५ वर्षीय भेषराज पौडेलले आफूसहित परिवारका ४ जनाले गरेको बचत सहकारीमै विलय भएपछि बचत फिर्ता पाउने आशा करिव सकिएको गुनासो गर्छन् । रोजगारका लागि भारतमा गएर जीवनभर कमाएको रकम उनले सहकारीमा बचत गरेका थिए । हाल सेवानिवृत्त जीवन बिताइरहेका उनले परिवारका अन्य ३ सहित ३३ लाख बढी रकम सहकारीमा जम्मा गरेका थिए । ‘सहकारीको रकम फिर्ता गराउनका लागि रास्वपा उम्मेदवार सुलभ खरेलाई पनि भेटेर भनियो । उहाँले त उल्टै आश्चार्य मानेजस्तो, डराएजस्तो कुरा गरेर टाढिनु भयो ।’–पौडेलले भने, आखिर हामीले जीवनभर खाइनखाई बचत गरेको पैसा पाउने आशा गुमिसक्यो ।
तिलोत्तमाको ड्राइभरटोलमा डेरी व्यवसाय गरेर बसेकी विमला शर्माले सहकारीमा बचत गरेको ४२ लाखभन्दा बढी रकम फिर्ता पाएकी छैनन् । रकम फिर्ता माग्दै विभिन्न आन्दोलन तथा विरोध कार्यक्रममा सहभागी भए पनि फिर्ता हुनै कुनै संकेत नदेखिएको गुनासो गर्दै उनले अब पनि न्याय पाउनेमा आशा मरिसकेको निराशा सुनाइन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लाखौं रकम गुमाएका बचतकर्ता अहिले उक्त विषयमा खुलेर बोल्न पनि चाहदैनन् । मुलुक प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । दल तथा दलका नेताहरुको आ–आफ्नै चुनावी प्रतिवद्धताहरु छन्, तर सहकारी पीडितहरुको माग पूरा गर्ने संकेत भने कसैले नदेखाएको उनीहरुको गुनासो छ । सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ती नै राजनीतिक शक्तिको आडमा भोट माग्दै हिँड्दा उनीहरु विरुद्ध बोले उल्टै सामाजिक बहिस्कारमा पर्ने पीडितहरुको डर छ । सामाजिक सञ्जालहरुमा आउने अभद्र र अश्लिल गालीगलोजको डरले पनि उनीहरु अचेल खुलेर बोल्न रुचाउँदैनन् ।
केही दिनअघि रुपन्देही २ मा रास्वपाका उम्मेदार रहेका सुलभ खरेललाई कालिकानगरमा सहकारी पीडितले बसेको घरमै पुगेर धर्ना दिएपनि खरेलले उनीसँग संवादमा समेत आउन तयार भएनन् । रास्वपाका नेताहरुसँग प्रत्यक्ष जोडिएको सहकारीका पीडितहरुले निर्वाचनकै समयमा त्यो विषयलाई सचेत गराउनेगरी अघि बढेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.