सैनामैनामा वडा अध्यक्ष कप ब्याडमिन्टन सम्पन्न, कभर्ड हलको उद्घाटन
पूर्वमन्त्री श्रेष्ठद्वारा कभर्ड हल उद्घाटन, बाँकी काम पूरा गर्न बजेट थप्ने प्रतिबद्धता
बुटवल, १९ जेठ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा आयोजित ‘प्रथम वडा अध्यक्ष ब्याडमिन्टन प्रतियोगिता (वडा अध्यक्ष कप २०८३)’ तथा कभर्ड हल समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । नवयुग युवा क्लब, सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिका वडा नं. १ कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
खेलकुदले युवाहरूलाई अनुशासित र सबल बनाउँछ: पूर्वमन्त्री श्रेष्ठ
दुई दिनसम्म चलेको उक्त प्रतियोगिता तथा नवनिर्मित कभर्ड हलको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले शिलालेख अनावरण गरेर विधिवत् रूपमा गर्नुभएको थियो ।
कभर्ड हल उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद क्षेत्रको विकासले मात्रै युवाहरूलाई अनुशासित र सबल बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले कभर्ड हलको बाँकी रहेका केही निर्माण कार्यहरू आगामी बजेटमार्फत परिपूर्ति गरिने प्रतिबद्धता जनाउनुभयो । पूर्व वडा अध्यक्ष केरसिंह गलामीको कार्यकालमा सुरु भएको खेलमैदान र कभर्ड हलको काम गुरुयोजना (DPR) बमोजिम नै सम्पन्न हुने कुरामा समेत उहाँले जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र शर्माले नगरभित्र खेलकुद पूर्वाधार निर्माणमा स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
आगामी बजेटमा खेलकुदलाई प्राथमिकता: वडा अध्यक्ष क्षेत्री
समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि सैनामैना वडा नं. १ का अध्यक्ष भुवन क्षेत्रीले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । त्यस क्रममा बोल्दै उहाँले “देशका लागि खेल, युवाको लागि खेल, स्वास्थ्यको लागि खेल आजको आवश्यकता भएको बताउनुभयो । आगामी बजेटमा पनि युवा र खेलकुदलाई समेट्ने गरी थप महत्त्वपूर्ण कार्यक्रमहरू ल्याउनेउहाँको भनाइ थियोे ।”
प्रतिस्पर्धामा दाङ र लाफा ब्याडमिन्टन क्लब प्रथम
लुम्बिनी प्रदेश स्तरीय खुला मेन्स डबल, भेट्रान्स ४५+ र न्यू बिगिनर्स विधामा सञ्चालन गरिएको ब्याडमिन्टन प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत ‘सी लेभल डबल मेन्स ब्याडमिन्टन’ विधामा दाङ ब्याडमिन्टन क्लबले प्रथम स्थान हासिल गरेको छ भने बर्दघाट ब्याडमिन्टन क्लब द्वितीय र आयोजक नवयुग युवा क्लब तृतीय हुन सफल भएका छन् ।
त्यसैगरी, ‘भेट्रान्स ४५+ ओभर’ विधा तर्फ लाफा ब्याडमिन्टन क्लबले उपाधि चुम्दै प्रथम स्थान सुरक्षित गरेको छ । उक्त विधामा बर्दघाट ब्याडमिन्टन क्लब उपविजेता (द्वितीय) बन्दा सेमलार ब्याडमिन्टन क्लब र मुर्गिया ब्याडमिन्टन क्लबले संयुक्त रूपमा तृतीय स्थान हासिल गरे । प्रतियोगिताका उत्कृष्ट तथा विजयी खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद धनराशि प्रदान गरिएको थियो ।
भव्य समारोह र व्यवस्थापन
नवयुग युवा क्लबका अध्यक्ष श्रीप्रसाद पुनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका पूर्व अध्यक्ष दीपक थापा, निवर्तमान अध्यक्ष तुलबहादुर तरामु लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष पुनले खेलमैदानको वर्तमान अवस्था, प्रगति विवरण र आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो ।
क्लबकी पदाधिकारी मञ्जु पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव रेशम खनालले गर्नुभएको थियो । खेल व्यवस्थापनमा राजु सुनार, प्रकाश सुनार, मिलन काला, विक्रम थापा र राजकुमार परियार लगायतका क्लबका सदस्यहरूले विशेष भूमिका निर्वाह गरेका थिए ।





