तिलोत्तमा । नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा, ‘गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाज’ ले ‘तीज मिलन तथा दर खाने कार्यक्रम’ आयोजना गरेको छ । तिलोत्तमा–३, शंकरनगरस्थित ‘रेडिसन पार्टी प्यालेस’ मा यहीँ भदौ ६ गते उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रुपन्देहीमा बसोबास गर्ने गुल्मी कुर्घाबासी महिलाहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।
“तीजको रहर आयो बरिलै……..” भन्ने लोकभाकाको पृष्ठभूमिमा आयोजना हुने कार्यक्रमले गुल्मी कुर्घाको नेपाली परम्परा र संस्कृतिलाई जोगाउने र समुदायबीचको भ्रातृत्वलाई प्रगाढ बनाउने मुख्य उद्देश्य रखिएको छ । कार्यक्रममा सहभागिताका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको समाजका सचिव जीवन पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा परम्परागत नेपाली ‘दर’ र महिलाहरूको मौलिख सांस्कृतिक प्रस्तुति रहने समाजका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । समाजले कार्यक्रममा सहभागी हुन सम्पूर्ण कुर्घेली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, भान्जा भान्जीलगायत निमन्त्रणा गरेको छ । कार्यक्रमको अवसरमा परम्परागत ‘दर’ को स्वाद लिँदै एकआपसमा भलाकुसारी गर्न समेत पाइने भएकोले उपस्थितिका लागि सबैलाई आग्रह गरिएको सचिव पौडेलको भनाइ छ । “हामी गुल्मीबाट रुपन्देही आएर बसोबास गरेका छौं, तर आफ्नो मूल घरको संस्कृति र चाडपर्वलाई बिर्सनु हुँदैन । यस्ता कार्यक्रमहरूले हामीलाई आफ्नो जन्मथलोसँग जोड्न मद्दत गर्छ र समुदायबीचको एकतालाई बलियो बनाउँछ । यस कार्यक्रमले गुल्मी–कुर्घाबासीबीच एकअर्कासँग चिनजान गर्ने र सम्बन्धलाई नवीकरण गर्ने एउटा उत्तम अवसर प्रदान गर्नेछ ।” सचिव पौडेलले भन्नुभयो । गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजद्वारा आयोजित ‘तीज मिलन तथा दर खाने कार्यक्रम’ मात्र एउटा भोज नभई, नेपाली कला, संस्कृति र सामाजिक सद्भावलाई जोगाउने एउटा महत्वपूर्ण प्रयास हो । समाजले हरेक वर्ष तीजमिलन तथा दर खाने कार्यक्रम आयोजना गर्दै आएको छ ।
तस्वीर : एआई





