तिलोत्तमा, वैशाख २४ । “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने नारालाई आत्मसात् गरेको तिलोत्तमा नगरपालिकाले न्याय, समानता र अधिकारका लागि तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ आयोजना गरेको छ । एक ऐतिहासिक र सशक्त कार्यक्रमको आयोजना गरेको तिलोत्तमाले उत्सवलाई व्यापक बनाउने उद्देश्यले बुधबार तिलोत्तमा नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराएको छ । सम्मेलनमा आयोजकहरूले कार्यक्रमको उद्देश्य, महत्व र आगामी गतिविधिहरूको जानकारी दिएका छन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सम्मेलनले दलित समुदायको शिक्षा, समान अवसर र समावेशी अधिकारका सवालमा विशेष ध्यान दिइने जनाए । यसैगरी उपप्रमुख जागेश्वरी चौधरीले समतामुलक समाज निर्माणको लागि सचेतना अभिवृद्धिमा यो कार्यक्रमले टेवा पुर्याउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यो ज्ञान उत्सवले तिलोत्तमालाई मानीवय सहरको रुपमा विकास गराउन भूमिका खेल्ने बताए ।
‘न्याय, समानता र अधिकारका लागि’ भन्ने मूल नाराका साथ बैशाख २६ र २७ गते दुई दिने उत्सव तिलोत्तमा–१, नयाँमिलस्थित होटल स्वानमा आयोजना हुने जानकारी दिइएको छ । उत्सवमा ज्ञान आदान–प्रदान, समुदायको सहभागिता, सामाजिक नेतृत्व विकास, शिक्षा–अधिकार सम्बन्धी बहस, तथा विविध साँस्कृतिक कार्यक्रमहरू समेत गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । यसले समुदायलाई सशक्त बनाउन र आगामी पुस्तालाई प्रेरित गर्न ठुलो योगदान पु¥याउने आयोजकको विश्वास छ । आइएसओ सर्टिफाइड नगरपालिकाका रूपमा चिनिएको तिलोत्तमाले यस्तो ज्ञान–केन्द्रित सामाजिक कार्यक्रम गरी समावेशी र सशक्त समाज निर्माणतर्फ नयाँ दृष्टान्त राखेको छ ।