तिलोत्तमा, वैशाख २६ । “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने नारालाई आत्मसात् गरेको तिलोत्तमा नगरपालिकाले न्याय, समानता र अधिकारका लागि तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ आयोजना गरेको छ । ‘न्याय, समानता र अधिकारका लागि’ भन्ने मूल नाराका साथ शुक्रबारबाट सुरु भएको उत्सव शनिबारसम्म चल्ने छ ।
तिलोत्तमा–१, नयाँमिलस्थित होटल स्वानमा कार्यक्रम आयोजना गरिएको हो । उत्सवमा ज्ञान आदान–प्रदान, समुदायको सहभागिता, सामाजिक नेतृत्व विकास, शिक्षा–अधिकार सम्बन्धी बहस, तथा विविध कार्यक्रमहरू समेत गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । यसले समुदायलाई सशक्त बनाउन र आगामी पुस्तालाई प्रेरित गर्न ठुलो योगदान पु¥याउने आयोजकको विश्वास छ । आइएसओ सर्टिफाइड नगरपालिकाका रूपमा चिनिएको तिलोत्तमाले यस्तो ज्ञान–केन्द्रित सामाजिक कार्यक्रम गरी समावेशी र सशक्त समाज निर्माणतर्फ नयाँ दृष्टान्त राखेको छ ।
उत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले समतामुलक समाज निर्माणको लागि सबैको उत्तिकैं भूमिका रहने उल्लेख गरे । कानूनी रुपमा हटेको विभेद अझै पनि सामाजिक रुपमा पूर्णतः नहटेको चर्चा गर्दै उनले यसमा सामाजिक सचेतनाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले उत्सवले दलित समुदायको शिक्षा, समान अवसर र समावेशी अधिकारका सवालमा विशेष ध्यान दिएको जनाए । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यो ज्ञान उत्सवले तिलोत्तमालाई मानीवय सहरको रुपमा विकास गराउन भूमिका खेल्ने बताए । उत्सवको पहिलो दिन विभेद विरुद्ध चित्रकला, विभेद विरुद्ध कविता तथा सांस्कृतिक कार्यक्रमका साथैं दलित अधिकार र राजनीतिक दलको भूमिका, राजनीतिक दल र समावेशीकरण, दलित र उद्यमशिलताको विषयमा छलफल भएको जनाइएको छ ।