जनजागृति मा.वि.मा अभिभावक अभिमुखीकरण

जेठ–३, तिलोत्तमा ।
तिलोत्तमा–२, योगीकुृटीमा रहेको श्री जनजागृति मा.वि.मा शुक्रबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावकहरूलाई लक्षित गरी आयोजना गरिएको अभिभावक भेलामा शैक्षिक सत्र २०८२ मा सञ्चालन हुने विद्यालयका गतिविधि, विद्यालयको वार्षिक कार्यतालिकासहितको क्यालेन्डर, अतिरिक्त क्रियाकलाप, विद्यार्थी लक्षित कार्यक्रम, विद्यालयको वर्तमान र भावी रणनीतिलगायत विविध विषयमा अभिभावकहरूलाई अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका निम्ति अभिभावकको अहम् भूमिका रहेको बताउँदै युग सुहाउँदो शिक्षाका लागि विद्यालयले सिकाइमैत्री वातावरणमा संस्कारयुक्त शिक्षामा जोड दिइरहेको बताउनुभयो । उहाँले कार्यक्रममा अभिभावकका जिज्ञासा र सुझावका बारेमा सम्बोधन गर्दै विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक सचेत र क्रियाशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक खेमराज खनालले विद्यालयसम्बन्धी जिज्ञासा र सुझाव खुलेर राख्न्न अनुरोध गर्दै अभिभावकको निगरानीबिना विद्यार्थीहरूको सिकाइ उपलब्धि चाहेजस्तो नहुने बताउनुभयो ।
त्यसैगरी कार्यक्रम सञ्चालनका क्रममा प्राथमिक तह इन्जार्च गंगा सापकोटाले विद्यार्थीहरूको पढाइलाई राम्रो बनाउन विद्यालयले दिएको गृहकार्य छोराछोरीले गरे गरेनन्, विद्यालयमा के कस्ता गतिविधि भइरहेका छन् भन्ने बारेमा अभिभावकहरूले निरन्तर चासो राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षक पुरुषोत्तम पाण्डेय र लक्ष्मी पन्थ गैरेले अभिभावकका जिज्ञासा र सुझाव सङ्कलनको सहजीकरण, अस्मिता अछामीले अभिभावक रेकर्ड व्यवस्थापन, युवराज बस्यालले दृश्य प्रविधि व्यवस्थापन, वि.व्य.स. शिक्षक प्रतिनिधि नारायण भुसाललगायत प्राथमिक तहमा अध्यापन गराउनुहुने शिक्षकहरूले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसैगरी विद्यालयमा साप्ताहिक शुक्रबारीय कार्यक्रमअन्तर्गत कक्षा नर्सरीदेखि ५ सम्म डिक्टेसन, कक्षा ६ देखि १० सम्म निबन्धलेखन र सबै तहमा चित्रकला प्रतियोगिता सम्पन्न भएको कुरा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख नरेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.