संविधान दिवसको दिन पाएका थिए आममाफी
प्रहरी नायव उपरीक्षक रानाका अनुसार, अभियुक्त सुजनले दुई नाबालक छोरीहरू स्नेहा र हिमानीको घाँटी चक्कुले रेटेर हत्या गरेका थिए। दिपालाई भने सुरूमा टाउकोमा हथौडा प्रहार गरी गम्भीर बनाएपछि घाँटी रेटेर मारिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
हत्या अभियोगमा पक्राउ परेका सुजन कोइरालाको विगतको आपराधिक पृष्ठभूमी झनै डरलाग्दो पाइएको छ। प्रहरीका अनुसार, करिब १० वर्षअघि सुजनले आफ्नै माइला दाजुको हत्या गरेका थिए।
दाजुको हत्यापछि शवलाई टुक्राटुक्रा पारी नष्ट गर्ने प्रयास गरेका उनले पछि जिल्ला प्रहरी कार्यालय पाल्पामा दाजु हराएको भन्दै खोजीका लागि निवेदन समेत दिएका थिए।
माइला दाजुको हत्यापछि सुजन जेल परेका थिए। दिपाले सुजन जेलमा छँदै उनीसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। सुजनले करिब आठ वर्ष जेल जीवन बिताएका थिए। उनी केही वर्षअघि संविधान दिवसको दिन सरकारले दिएको आम माफी पाएर जेलबाट छुटेका थिए ।
जेलबाट छुटेपछि सुजन छिमेकमा मिलनसार देखिने गरेको स्थानीयवासी बताउँछन्। उनी शान्त स्वरमा सबैलाई ‘नमस्कार’ गर्ने गरेको छिमेकीहरूको भनाइ छ ।