तिलोत्तमा, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ प्रदीपनगरको शिवालय पथमा वृक्षरोपण गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा सडक किनारमा एक सय भन्दा बढी बेगनबेली फूलका विरुवा रोपिएको हो ।
गत वर्ष फराकिलो पारेर दुवैतर्फ नालीसहित कालोपत्रे गरिएको सडकमा सहरी सौन्दर्य प्रवद्र्धनका लागि यस वर्ष वृक्षरोपण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सडकको दुवैतर्फ पक्की रिङ्गलाई वेस बनाएर उन्नत जातका बेगनबेली फूलका विरुवा रोपिएको हो ।
वृक्षरोपण कार्यको सुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले लगाइएका विरुवालाई हेरचाह गरेर हुर्काउन टोलबासीलाई आग्रह गर्दै फराकिला सडकमा हरियाली प्रवद्र्धन गर्ने पालिकाको नीति रहेको स्पष्ट पार्नुभयो । यस्तै उपप्रमुख जागेश्वरी चौधरीले समुदायमा आधारित ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा अभियानले तिलोत्तमालाई फरक पहिचान दिलाएको बताउँदै लगाइएका विरुवा हुर्काउने विषय सबैभन्दा महत्वपूर्ण रहने बताउनुभयो । वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्रीले विश्वतापमान वृद्धिलाई न्यूनीकरण गर्न सम्भव भएका खाली जमिनमा वृक्षरोपण गर्न नगरबासीलाई आह्वान गर्नुभयो । जनप्रतिनिधि, विभिन्न संघ संस्था, क्लव, टोल विकास संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव शिवु पाण्डेयले गर्नुभएको थियो ।
बिहीबार विश्व वातावरण दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । बिहीबार नैं तिलोत्तमाका विभिन्न ठाउँमा पनि विश्व बातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ ।