तिलोत्तमाले बनायो दलित पाश्र्वचित्र : दलित समुदायको तथ्यांक र जानकारी एकै ठाउँमा

बीपी गौतम
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित पाश्र्वचित्र तयार गरेको छ । नगरपालिकामा दलित समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, संस्कृतिक लगायत समग्र वस्तुगत अवस्थाको आधार सृजना गर्ने सन्दर्भमा दलित पाश्र्वचित्र—२०८२ तयार गरिएको हो । पाश्र्वचित्रले नगर क्षेत्रभित्रका दलित समुदायका आवश्यकता, अधिकार र समस्याको पहिचान गर्ने र नगरका भावी योजना र दलित लक्षित कार्यक्रमहरू कार्यान्वयनमा मद्दत पुर्याउने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
सरोकारवाला तथा विज्ञहरूको सुझावहरूलाई समेटेर पाश्र्वचित्र तयार गरिएको हो । पाश्र्वचित्रमा दलित जनसंख्या वितरणको अवस्था, उमेर, धर्म, जातिगत, लैङ्गिक, पेशा, आर्थिक रुपमा सक्रिय, अपाङ्गता, सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित दलित समुदायको तथ्यांकलगायतका विवरणहरु समेटिएका छन् । यस्तै प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएको दलित समुदायको विवरण, विभिन्न समितिमा दलित समुदायको प्रतिनिधित्व जस्ता विषयलाई पनि पाश्र्वचित्रमा उल्लेख गरिएको छ ।
पाश्र्वचित्रअनुसार तिलोत्तमा नगरपालिकामा दलित समुदायको जनसंख्या ११ हजार ७३ जना छ । यो जनसंख्या दलित समुदायको वस्तुगत विवरण घरधुरी सर्वेक्षण—२०८० को आधारमा उल्लेख गरिएको हो । तिलोत्तमा नगरपालिकाले २०७५ मा गरेको घरधुरी सर्वेक्षणमा दलित समुदायको जनसंख्या ७ हजार ४६६ रहेकोमा थियो । दलित समुदायको वस्तुगत विवरणअनुसार नगरपालिकाको समावेश दलित घरधुरी संख्या २ हजार ३६५ र रहेको देखिन्छ । वडा अनुसार सबैभन्दा उच्च दलित जनसंख्या वडा नं. ११ मा रहेको देखिन्छ भने सबैभन्दा कम वडा नं. ५ मा रहेको देखिन्छ । दलित जनसंख्यालाई हेर्ने हो भने उच्च जनसंख्या भएको वडा वडा नं. ११ मा १ हजार ६६२ र न्यून जनसंख्या वडा नं. ५ मा २३९ रहेको देखिन्छ ।
दलित समुदायको उमेरको आधारमा जनसंख्याको विवरण हेर्दा सबैभन्दा धेरै २०–२९ वर्ष उमेरको जनसंख्या रहेको देखिन्छ । यो उमेरको जनसंख्या पुरुष ९६६ जना र महिला १ हजार ३७ जना गरी जम्मा २ हजार ३ जना रहेको छन् । दोश्रोमा ३०–३९ वर्ष उमेर समूहको जनसंख्या रहेको देखिन्छ । जसमा पुरुष ७६२ र महिला ८३७ गरी जम्मा १ हजार ५९९ रहेको देखिन्छ ।
तिलोत्तमा नगरपालिकाका दलित समुदायको बहुसंख्याक जनसंख्या हिन्दू धर्म मान्ने घरधुरी संख्या रहेको पाश्र्वचित्रले देखाएको छ । हिन्दू धर्म मान्ने जम्मा घरधुरी संख्या २ हजार २२२ रहेको देखिन्छ । यो कुल घरधुरी संख्याको ९३.९५ प्रतिशत हुन हुन्छ । त्यसै गरी क्रिश्चियन धर्म मान्नेको संख्या १३० जना अर्थात् कुल घरधुरी संख्याको ५.४९ प्रतिशत हुन्छ भने बौद्ध धर्म मान्ने जम्मा घरधुरी संख्या ७ रहेको छ ।
दलित समुदायको घरधुरी सर्वेक्षण—२०८१ लाई उल्लेख गरेर पाश्र्वचित्रमा जनाइएअनुसार नगरपालिकामा बसोबास गर्ने दलित समुदायको जातजातिहरूमा सबैभन्दा धेरै संख्या १ हजार २३ अर्थात् कुल दलित समुदायको जनसंख्याको ४३.२५ प्रतिशत जनसंख्या विश्वकर्मा समुदायको रहेको देखिन्छ । दोस्रोमा परियार समुदायको जनसंख्या ६०७ रहेको छ । परियारहरूको जनसंख्या कुल दलित जनसंख्या को २५.६६ प्रतिशत हो । तेस्रोमा मिजारको जनसंख्या ३८८ रहेको छ । मिजारहरूको जनसंख्या कुल दलित जनसंख्याको १६.४० प्रतिशत रहेको देखिन्छ । चौथोमा चमार÷हरिजनको जनसंख्या १७६ रहेको छ । पाँचौं मुसहरको जनसंख्या ११७ रहेको छ । यसैगरी पासीको जनसंख्या २६ रहेको छ ।
नगरपालिकामा लैङ्गिकताको आधारमा घरमुली उत्तरदाताको कूलसंख्या २ हजार ३६५ घरपरिवार मध्ये पुरुष घरमुली हुने घरपरिवार १ हजार ४८९ र महिला घरमुली उत्तरदाता हुने घरपरिवार ८७६ रहेका छन् । नगरपालिकामा कुल दलित जनसंख्यामध्ये १ दशमलव ०३ प्रतिशत जनसंख्याले पुर्खौली परम्परागत पेशा लाई निरन्तरता दिएको देखिन्छ । नगरपालिका भित्र रहेका दलित समुदायका ६० वर्ष वा सोभन्दा बढी उमेरका भएका जेष्ठ नागरिक ३७२ जना सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित भएका छन् । यसैगरी बालपोषण भत्ता दलित बालबालिका ४४५ जना, एकल महिला १८१ जना, अपाङ्गता भएका व्यक्तिहरू १८ जना, अन्य सहायता सुरक्षा भत्ता ६ जना र राष्ट्रिय अन्तर्राष्ट्रि पेन्सन पाउनेमा २५ जना रहेका छन् । दीर्घरोग भत्ता २ जनाले पाएका छन् साथै स्वास्थ्य बीमा गर्ने १२० रहेका छन् ।
घरधुरी सर्वेक्षण २०८१ का अनुसार यस तिलोत्तमा नगरपालिका दलित समुदायको आर्थिक स्रोतको मूल आधार वैदेशिक रोजगार र ज्याला मजदुरी रहेको छ । सहायक रूपमा खेतिपाती, जागिर, व्यापार र परम्परागत पेशा अंगालेको देखिन्छ । नगरपालिकाको १३ दशमलव ७३ प्रतिशत दलितहरू वैदेशिक रोजगार र ज्याला मजदुरी पेशामा संलग्न रहेका छन् भने प्रायःजसो सबै दलित जनसंख्या वैदेशिक रोजगार र ज्याला मजदुरी गरेरै जिविकोपार्जन गरेको पाइएको छ । नगरपालिकामा कुल समावेश जनसंख्याको १ हजार ७१४ संख्या बेरोजगार रहेको पाइएको छ ।
तिलोत्तमा नगरपालिकाबाट दलित समुदायका १ हजार ६६९ जना विदेश गएको तथ्याङ्कले देखाउँछ । जसमध्ये भारत जानेको संख्या सबैभन्दा धेरै रहेको देखिन्छ । ६११ जना भारत गएको देखिन्छ जसमा महिलाको संख्या १२२ छ भने दोश्रोमा मलेशिया देखिन्छ, जहाँ ३९३ जना गएको देखिन्छ । यसैगरी २२० जना साउदी अरब, १४८ जना दुबइ, ११९ जना कतार, ३४ जना जापान, ३३ जना अमेरिका, ११ जना अष्ट्रेलिया, ७ जना दक्षिण कोरिया, ५ जना इटाली, २ जना बेलायत र १ जना फ्रान्स मा रहेको देखिन्छ । कुल घरधुरी मध्ये २८ घरधुरी फुसको घरमा, २७ जन खपटा, ८९८ जना टिन र १ हजार ४१२ जना पक्कि घरमा बसोबास गरेको पाइएको छ । नगरमा अझै पनि ४४ दलित घरधुरीको घरमा शौचालय नरहेको पाश्र्वचित्रमा उल्लेख छ ।
‘नेपालको सामाजिक संरचनामा दलित समुदायले लामो समयदेखि विभिन्न चुनौतीहरूको सामना गर्दै आइरहेका छन् । तर, ती सबै कठिनाइहरूका बाबजुद पनि उनीहरूले समाजको समृद्धि, विकास र परिवर्तनका लागि अतुलनीय योगदान पु¥याएका छन् । यस योगदानलाई उचित सम्मान दिनु हाम्रो कर्तव्य मात्र होइन, दायित्व पनि हो । तसर्थ, ‘तिलोत्तमा दलित पाश्र्व चित्र’ निर्माणको माध्यमबाट हामीले दलित समुदायको संघर्ष, उपलब्धि र योगदानलाई उजागर गर्ने कोशिस गरिरहेका छौँ ।’ दलित पाश्र्वचित्र—२०८२ को सन्दर्भमा नगर प्रमुख रामकृष्ण खाणले आफ्नो भूमिकामा भन्नुभएको छ ।
‘दलित पाश्र्व चित्र निर्माण केवल एउटा योजना मात्र होइन, यो त हाम्रो समाजको ऐतिहासिक सत्य उजागर गर्ने अभियान हो । महिलाको दृष्टिकोणबाट हेर्दा पनि यो अभियान विशेष महत्वको छ । दलित महिलाहरूले समाजमा दोहोरो उत्पीडन भोग्दै आइरहेका छन्—जातीय विभेद र लैंगिक असमानताको मार खेप्दै आएका छन् । तसर्थ, यो पाश्र्व चित्रले दलित महिलाहरूको संघर्ष, उनीहरूको हिम्मत, अटल धैर्य र योगदानलाई पनि उचित स्थान दिने विश्वास लिएकी छु ।’ नगर उपप्रमुख जागेश्वरी चौधरीले दलित पाश्र्वचित्रको सन्दर्भमा आफ्नो भनाइ राख्नुभएको छ । रवि सेन्चुरी र राम विश्वकर्माले पाश्र्वचित्र तयारीमा विज्ञको रुपमा काम गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.