बुटवल । रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२-८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो ।
संघका अध्यक्ष दिलिप सापकोटाले सो अवसरमा बोल्नुहुँदै उद्योगी व्यवसायीलाई गरिएको अभिमुखीकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो। वहाँले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो। अध्यक्ष सापकोटाले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै आफूहरुले उठान गरेका कुराहरु समेटिएकाले सकारात्मक रुपमा लिएको बताए । आर्थिक विधेयकमा समावेश भएका विषयहरु आमउद्योगी व्यवसायीलाई बुझाउन सकियो भने त्यसबाट उनीहरुले लाभ लिन सक्ने वहाँको भनाई थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मीले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरु विषयविज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रति प्रसंसा गर्नुहुँदै आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरु पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी व्यवसायीले लाभ लिने कुरामा चुकिरहेको बताउँदै समयसान्दर्भिक रुपमा गरिएको कार्यक्रम लाभदायि हुने विश्वास व्यक्त गर्नु भयो। आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजश्वका अन्य स्रोतहरुमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मुल्य अभिबृद्धि कर, अन्तशुल्क, भन्सार महशुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी दिनभएको थियो। वहाँले सरकारले राजश्वका अन्य स्रोतहरु व्यवस्था गरेको बताउँदै आर्थिक विधेयक २०८० मार्फत ल्याइएको वैदेशिक पर्यटन शुल्कलाई आर्थिक विधेयक २०८२ ले खारेज गरेको तर आर्थिक ऐन असार मसान्तसम्म रहने हुँदा पर्यटन शुल्क असार मसान्तसम्म कायमै रहने बताउनुभयो। हरितकरको दरमा परिवर्तन भएको, वैदेशिक रोजगार सेवा शुल्क थप गरिएको, विलाशिताका बस्तुमा शुल्क थप गरिएको, वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा सेवा शुल्क थप गरिएको, आर्थिक विधेयकमा जलविद्युत आयोजनाले बैंक जमानतमा पैठारी गर्न सक्ने, ढुवानी साधनको भाडा वापतको खर्च कट्टी, अवकाश योगदान वापतको रकम हस्तान्त्रण गर्ने, सामाजिक संस्थालाई छुट, मुल्य अभिबृद्धि कर तथा अन्तशुल्कमा छुट सुविधा, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक तथा हवाई टिकट विक्रेतालाई छुट, आय विवरण पेश नगरेकालाई छुट सुविधा, विद्युतीय सेवा प्रदायकलाई सुविधा, सार्वजनिक तथा निजी सवारी साधनलाई आयकर छुट लगायतका छुट सुविधा प्रदान गरिएको उद्योगीहरूलाई जानकारी गराउनुभयो। सो कार्यक्रम मा उद्योगीहरु बाट उठान भएका जिज्ञासाहरु उपर सहजकर्ता सिए सगुन खनालले प्रस्ट पार्नु भएको थियो । संघका महासचिव हिरामणी भट्टराईको सञ्चालन मा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यबाद ज्ञापन गर्नु भएको थियो।