रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा शुक्रबार चित्रकला कार्यशाला गोष्ठी सुरु भएको छ । कार्यशालामा २१ जना कलाकारको सहभागिता छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र व्यवसायिक आटिष्ट कलाकार संघको सहकार्यमा कार्यशाला भएको हो । गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो । कार्यशाला दुई दिनसम्म चल्नेछ ।
कार्यशालामा कलाकारहरूले कञ्चन गाउँपालिकाको मौलिकता, धार्मिक स्थलहरू, पुरातात्विक महत्वका संरचना र प्राकृतिक सौन्दर्यलाई क्यानभासमा उतार्नेछन् । कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले यस कार्यक्रमले गाउँपालिकाको पर्यटन सम्भावना र सांस्कृतिक धरोहरलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चित्रकला मार्फत कञ्चनको विविधता, सम्पदा र सौन्दर्यलाई देश तथा विदेशसम्म पु¥याउने लक्ष्य राखिएको छ ।”
कार्यशालाको उद्घाटन समारोहमा गाउँपालिकाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कलाकारहरूलाई सिर्जनात्मक स्वतन्त्रता दिइएको यस कार्यशालाबाट झण्डै ४० वटा चित्र तयार हुने अनुमान गरिएको छ, जसलाई अन्तिम दिन प्रदर्शनीमार्फत सार्वजनिक गरिनेछ ।
स्थानीय पर्यटन प्रवद्र्धनसँगै कला र संस्कृतिको संरक्षण तथा प्रवाहमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान दिने आयोजकहरूले बताएका छन् ।