रुपन्देही । सुरक्षित आप्रवासन (सामी) परियोजनाद्वारा सञ्चालित आप्रवासी सेवा केन्द्र, रुपन्देहीमा पछिल्लो एघार महिनाको अवधिमा वैदेशिक रोजगारी सम्बन्धी ठगीका १८४ उजुरी परेका छन् । रोजगारीको आशमा विदेश गएका वा जाने तयारीमा रहेका युवायुवतीहरु ठगीको शिकार भइरहेका बेला यो तथ्यांकले वैदेशिक रोजगार क्षेत्रको नियमनमा चुनौती देखाउँछ । उजुरीहरूमा पासपोर्ट राख्ने, सम्झौता विपरीत काममा लगाउने, तोकिएको भन्दा कम तलब दिने, एजेन्टले रकम लिएर काम नगर्ने लगायतका गुनासाहरू रहेका छन् ।
केन्द्रमा परेका ठगीका उजुरीमध्ये १४ वटा उजुरी महिला र १७० पुरुषले गरेका छन् । यसैगरी मृत्यु वा अंगभंगका ४४ घटना केन्द्रमा आएको तथ्यांक छ । उद्धारका २४, सम्पर्कविहीन ३, जेल १, करारजन्य समस्या २ र अन्य १७ गरी कुल २७५ समस्या केन्द्रमा आएको जनाइएको छ । यो तथ्यांक गत साउनदेखि जेठ २९ सम्मको हो ।
सुरक्षित आप्रवासन (सामी) परियोजना रुपन्देही जिल्ला संयोजक सीता पन्थका अनुसार सेवा केन्द्रमा आएका पीडितहरूलाई आवश्यक कानुनी परामर्श, उजुरी दर्ता, प्रमाण संकलन, र कानुनी प्रक्रियामा सहयोग गरिँदै आएको छ । “उजुरीको संख्या हेर्दा वैदेशिक रोजगारका नाममा भइरहेको ठगीको अवस्था गम्भीर छ,” संयोजक पन्थले भनिन्, “सचेतना अभिवृद्धि र सम्बन्धित निकायको प्रभावकारी अनुगमन जरुरी देखिन्छ ।”
सामी परियोजना नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्विस विकास सहयोग र हेल्वेटास नेपालद्वारा संयुक्त रुपमा सञ्चालन भइरहेको कार्यक्रम हो । परियोजनाको उद्देश्य आप्रवासनलाई सुरक्षित, व्यवस्थित र लाभदायक बनाउनु हो ।
जिल्ला संयोजक पन्थका अनुसार परियोजना अन्तर्गत सञ्चालित सेवा केन्द्रले घर फर्किएका आप्रवासीलाई व्यवसायिक पुनःएकीकरण, सीप विकास तालिम र मनोसामाजिक परामर्श समेत प्रदान गरिरहेको छ । स्थानीय तह र सरोकारवालाबीच सहकार्य गर्दै वैदेशिक रोजगारसम्बन्धी ठगी न्यूनीकरणका लागि सामी परियोजना सक्रिय रूपमा कार्यरत छ ।