बुटवल । नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै ईलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ । आइतबार नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नगर कमिटी अध्यक्ष शोभाखर पोखरेल, नेताहरु बिमला श्रेष्ठ, राजेन्द्र ढकाल लगायत सहभागी गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
कार्यालयमा हाल राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउनेहरुको चाप रहेकोले बिहान ६ बजेदेखि नैं सेवाग्राहीहरु लाइनमा बस्न बाध्य भएको भन्दै एमालेले जनतालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह हुने वातावरण मिलाउन माग गरेको हो । राज्यले प्रदान गर्ने सबै प्रकारका सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकोले कार्यालयमा सेवाग्राहीको चाप परेको र सोही अनुसारको सेवा प्रवाह दिन हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको ज्ञानपपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझेपछि ईलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले सेवाग्राहीको अत्याधिक चापका कारण समस्या भएको तथा चापअनुसार उपकरण र जनशक्तिको अभावका बिच कार्यालयले सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिकालाई पालिकाको तर्फबाट एउटा केन्द्र थपेर काम गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।