बनेका भौतिक पूर्वाधार सञ्चालनमा ल्याइने नगर प्रमुख खाणको प्रतिबद्धता

तिलोत्तमा । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउन रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आइतबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै जनमुखी कार्यक्रम ल्याउन नगरपालिकाको नेतृत्वलाई सुझाव दिएका हुन् । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक तथा व्यवसायिक संघ संस्था, खानेपानी, वन, सञ्चार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले सबै क्षेत्रको विकासको मूल आधार शिक्षा रहेकोले सामुदायिक विद्यालयको सशक्तिकरण, दिवा खाजा, भौतिक पूर्वाधार विकासमा लगानी बढाउन सुझाव दिए ।
वनवाटिकामा रहेको बहुउद्देश्यीय टावर, सिटी कलेज, अतिथि भवन, तिलोत्तमा औद्योगिक ग्रामलाई सञ्चालन गर्नेगरी आगामी अर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा सहभागीहरुको जोड छ । यस्तै न्यून बजेटमा हुने तर प्रभावकारी रहेका ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा अभियान, एक वडा ः एक किमी सडक जस्ता असल अभ्यासलाई आगामी वर्षमा पनि निरन्तरता दिन सहभागीहरुको सुझाव छ ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले वडागत रुपमा बजेट सन्तुलित र कृषिलाई प्रोत्साहन गर्नेगरी ल्याउन सुझाव दिनुभयो । यसैगरी नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेलले निर्माण भैसकेका पूर्वाधार सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै जवाफदेहिता र सुशासनलाई समेत बजेट निर्माणका क्रममा ख्याल राखिनुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर कमिटी अध्यक्ष बेलप्रसाद शर्माले विकास निर्माणमा काममा गुणस्तरलाई ख्याल गरिनुपर्ने बताउँदै नदी दोहनलाई रोकिनुपर्नेमा बताउनुभयो ।
सहभागी २१ जनाले दिएका सुझाव सुनेपछी नगर प्रमुख रामकृष्ण खाणले आगामी आर्थिक वर्षको बजेटमा निर्माण भएका पूर्वाधार सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले स्रोत साधनले भ्याएसम्म सहभागीले दिएका सुझावअनुरुपको बजेट विनियोजन गरिने बताउनुभयो । स्थानीय सरकारलाई असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.