तिलोत्तमा, असार २ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला तथा युवतीहरुको पाठेघर र स्तन क्यान्सरको जाँच शिविर सुरु गरेको छ । सोमबार सेमराबजार स्वास्थ्य चौकीबाट पाठेघर र स्तन क्यान्सरको जाँच शिविर सुरु भएको हो । शिविर नगरका विभिन्न ९ वटा स्वास्थ्य संस्थामा सञ्चालन हुने सेमराबजार स्वास्थ्य चौकीका प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।
सोमबारको शिविरमा १८४ जनाले सेवा लिएकोमा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएकोमा थप परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको पाण्डेले स्वास्थ्य चौकीले जनाएको छ ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमाका कुनैपनि महिलाले स्तन र पाठेघरको क्यान्सरबाट मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताउनुभयोे । नगरका २४ जना नर्सलाई तालिम दिइएको र नियमित रुपमा अन्य वडामा पनि निःशुल्क जाच सेवा दिइने नगर प्रमुख खाणले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले स्तन क्यान्सर र पाठेघरको मुखको क्यानसरको लागि विगतका वर्षमा पनि शिविर सञ्चालन गरेको र अहिले पनि निरन्तरता दिए पनि महिलाहरुले त्यसतर्फ चासो नदिएको गुनासो गर्नु भयोे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरबासीलाई स्वास्थ्य राख्न यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले नगरपालिका स्वास्थ्यका क्षेत्रमा निकै जिम्मेवार रहेको बताउनु भयो ।
सो अवसरमा नगरपालिका वडा नं १० का बडा अध्यक्ष गोपाल प्रसाद घिमिरे, स्वास्थ्य शाखाका अधिकृत रामप्रसाद ढकालले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे । स्वाथ्य परीक्षणमा आम्दा अस्पतालका डा. नारायण जिसी र देवदह मेडिकल कलेजका डा. आरती श्रेष्ठ, लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल परिवार नियोजन संघका नर्सहरुको सहभागिता रहेको थियो ।
…………………………..