सार्वजनिक सेवाको ऐना: भ्रम, यथार्थ र नागरिक अपेक्षा

अमृत आचार्य
अघिल्लो रातभरि लाइन थिएन। गर्मीले गर्दा सुत्न नसकेर आँखाभरि निद्रा बोकेर म कार्यालय पुगेको थिएँ। दिउँसो त पङ्खाको हावाले समेत पसिना नओभाइने यो ठाउँमा, राति निदाउन खोज्दा बत्ती गयो भने रातभरि हम्किँदै बिताउनुपर्छ। दिउँसोको उकुसमुकुस र थकानका कारण कार्यालयमा कार्यव्यस्तताकै बीच आँखामा अलिअलि निद्रा आउन थालिसकेको थियो।
“ओहो सर! मस्त सुत्नुभएछ त,” यही भन्दै एकजना सेवाग्राही कोठाभित्र पसे। म झसङ्ग भएँ। मनमा अलिकति डर पनि पस्यो— कतै फोटो त खिचेनन्? आजभोलिका कतिपय डिजिटल ‘पत्रकार’ वा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई भित्रको यथार्थ नबुझी सतहको कुरा देख्नेबित्तिकै आफ्नो धारणा पोख्न हतार भइहाल्छ। त्यसमाथि एउटा सरकारी कर्मचारी यसरी कुर्सीमै निदाएको देख्दा त उनीहरूका लागि ठुलै ‘ब्रेकिङ न्युज’ भइहाल्छ। भाग्यवश, बेलाबेला आइराख्ने चिनेकै सेवाग्राही हुनुहुँदो रहेछ र त्यस्तो केही भएन। उहाँले “कर्मचारी भएर यसरी अफिस समयमा सुत्न त भएन नि सर” भन्दै जिस्काउनुभयो। मैले हिजो रातिको नालीबेली सुनाएपछि उहाँले पनि आफ्नो क्षेत्रमा रातभरि बत्ती नभएर त्यही हाल भएको स्वीकार गर्नुभयो।

डिजिटल युग र सामाजिक सञ्जालको त्रास

हातहातमा मोबाइल भएको यो डिजिटल युगमा फोटो वा भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्न जसले पनि जानेको छ। कर्मचारीहरू यसरी निदाएका, वा फुर्सदको समयमा लुडो खेलेका कतिपय भिडियो र फोटोहरू भाइरल भएका उदाहरण प्रशस्तै छन्। ती पोस्टहरूमा कर्मचारीप्रति आउने नकारात्मक टिप्पणी र आक्रोश त पढिनसक्नु हुन्छ। समाजमा कर्मचारीलाई आफ्नो करबाट पालिएको ‘तल्लो स्तरको कामदार’ ठानेर दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ, जसले गर्दा कर्मचारीमा पनि चरम निराशा र प्रतिरोधात्मक व्यवहार उत्पन्न गराउँछ।
अझ कतिपय सेवाग्राहीको विचारमा कर्मचारी ‘रोबोट’ जस्तै हुनुपर्छ— जतिबेला भन्यो उतिबेलै उपलब्ध भइदिनुपर्ने। कर्मचारी आफ्नो कुर्सी वा कोठा छोडेर कतै जानै नहुने, राति १२ बजे पनि उनीहरूको कामको लागि तैनाथ भइदिनुपर्ने जस्ता कठोर र अमानवीय मान्यताहरू विकसित हुँदै गएको देखिन्छ। कर्मचारी पनि आफू जस्तै हाडछालाको मान्छे हो, उसका पनि शारीरिक, सामाजिक, र घरेलु समस्या, इच्छा वा बाध्यता होलान् भन्ने मानवीय दृष्टिकोण समाजबाट हराउँदै गएको आभास हुन्छ।

प्रणालीगत समस्या र कर्मचारीमाथिको दोषारोपण

कहिले माथि (केन्द्र) बाटै सर्भर बिग्रँदा, त कहिले सेवाग्राहीले पूरा कागजात नल्याउँदा सेवा प्रवाहमा ढिलासुस्ती हुनु सामान्य हो। सबै कुरा तल्लो तहमा बस्ने कर्मचारीको हातमा हुँदैन। कर्मचारीलाई पनि सेवाग्राहीलाई अल्झाएर राख्न कत्ति पनि मन हुँदैन। उहाँहरूको काम छिटो र छरितो होस् भन्ने चाहना हुँदाहुँदै पनि विभिन्न प्राविधिक तथा प्रक्रियागत झन्झटले गर्दा केही समय लाग्ने नै हुन्छ। तर, प्रणालीको हरेक त्रुटिमा कर्मचारीलाई नै दोषी देख्ने र सबै बिगार्ने तत्व कर्मचारी नै हुन् भन्ने जुन भाष्य समाजमा निर्माण गरिएको छ, त्यो अत्यन्तै गलत छ। नेतादेखि जनतासम्म सबैले कर्मचारीलाई गाली गरेपछि देशका सबै समस्या सुध्रिन्छन् र आफू चोखो भइन्छ भन्ने विचार किमार्थ सही हुन सक्दैन।

आत्मालोचना: विकृति र सुधारको आवश्यकता

यसो भनिरहँदा, सार्वजनिक सेवाभित्रका विकृतिहरूलाई नजरअन्दाज गर्न मिल्दैन। अर्को पाटो हेर्ने हो भने, केही कर्मचारीहरूमा काम पन्छाउने र सेवाग्राहीलाई सास्ती दिने प्रवृत्ति पनि उत्तिकै छ। कार्यालय छोडेर क्यान्टिनतिर समय बिताउने, सहकर्मीलाई “म फिल्डमा छु भनिदिनू” भन्दै घर गएर बस्ने, वा आफ्नो क्वाटरमा गएर सुत्ने चलन कतिपय कार्यालयहरूमा सामान्य जस्तै बनेको छ। सजिलै हुन सक्ने काममा पनि अनावश्यक कानुनी झन्झट देखाएर अनुचित लाभ (भ्रष्टाचार) लिन खोज्ने कर्मचारीहरूलाई कडा कारबाही हुनैपर्छ। विडम्बना, त्यस्ता गलत तत्वहरूलाई राजनीतिक दल र ट्रेड युनियनहरूले संरक्षण गरेर कारबाहीबाट जोगाउने प्रयास गर्दै आएका छन्, जसले गर्दा इमानदार कर्मचारीहरूको मनोबल समेत खस्किएको छ।

आजको मुख्य आवश्यकता भनेको सेवाग्राही र कर्मचारी दुवैको सोच र व्यवहारमा परिवर्तन आउनु हो। सेवाग्राहीले प्रशासनिक कार्यप्रक्रिया र यसका सीमाहरूलाई बुझेर कर्मचारीलाई कार्यसम्पादनमा कसरी सहज बनाउन सकिन्छ भन्नेतर्फ सोच्न जरुरी छ। अर्कोतर्फ, कर्मचारीले पनि नागरिकको समयको मूल्य बुझ्दै आफ्नो सेवालाई थप छिटो, छरितो, पारदर्शी र गुणस्तरीय बनाउन आत्मकेन्द्रित हुनुपर्छ।
सार्वजनिक प्रशासन राज्य र जनता जोड्ने पुल हो। जबसम्म एकापसमा शङ्का र गालीगलौजको संस्कृति अन्त्य भई सहकार्य, मानवीय सद्भाव र प्रविधिमैत्री कार्यशैलीको विकास हुँदैन, तबसम्म सुशासनको परिकल्पना केवल कागजमै सीमित रहनेछ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.