लुम्बिनी, ११ जेठ । बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तिर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरुको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्वपूर्ण र दुर्लभ ग्रन्थ मानिन्छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यहरुको अभिलेख नामक पुस्तक सोमबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।
तिर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यहरुको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलहरुको पुरातात्विक पहिचान भएको छ । अभिलेख फ्रेन्च, अग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिए । ॅहामीले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेका छौं, उनले भने ।
पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्राविवरण महत्वपूर्ण रहेको बताए । बौद्ध राज्यहरुको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्ताहरुलाई सहज हुने उनले बताए । फासियानले पुस्तकमा तत्कालिन बौद्ध राज्यहरुको सांस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्ध स्थलहरुको विषयमा परिचर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्वपूर्ण कार्य रहेको उनले बताए ।
सिल्करोड सांस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्दहरू मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताइन् । सियानदेखि जुआनजाङसम्म, प्राचीन सिल्क रोडदेखि आजको बेल्ट एण्ड रोड इनिसिएटिभसम्म, चीन र नेपालले सांस्कृतिक आदानप्रदान मार्फत सधैं एकअर्कालाई उज्यालो पारेको भन्दै उनले लङमिङ्गह नेटवर्क टेक्नोलोजी कम्पनी लिमिटेडले यस अनुवादको प्रकाशनलाई सुरुवात बिन्दुको रूपमा प्रयोग गरेकोमा धन्यावाद दिए । त्यस्तै लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जु युले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली सांस्कृतिक क्लासिकहरूको पारस्परिक अनुवाद र प्रसारलाई प्रवद्र्धन गर्न काम जारी राख्ने आशा राखिन् ।





