बुटवल, ११ जेठ । बिसे नगर्ची एकताको प्रतिक नेपाल रुपन्देहीको आयोजनामा बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र पूर्व राजदूत पदम सुन्दासले संयुक्तरुपमा बिसे नगर्चीको पूर्णकदको शालिक अनावरण तथा विश्राम गृहको समुद्घाटन गरिएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बिसे नगर्चीको शालिकमा उनले उपदेश दिएबमोजिम एक रुपैयाको ढक हातमा राखिएकोले इतिहासको झल्को समेटिएको बताए । बिसे नगर्चीका बारेमा अनुसन्धान गरेर विभिन्न तथ्य र प्रमाणहरु जुटाएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले इतिहासको कालखण्डमा नेपालको एकीकरणलाई नियालेर हेर्दा धेरै संकटका क्षणहरु जुन बेलामा थिए, त्यो बेलामा बिसे नगर्चीको महत्वपूर्ण योगदान रहेको बताए
त्यस्तैगरी पूर्व राजदुत पदम सुन्दासले बिसे नगर्चीको योगदानलाई राज्यले छायामा पारेको भन्दै उनको इतिहासलाई देशव्यापी बनाउन सातै प्रदेशमा शालिक निर्माण गरिने बताए । उनले बिसे नगर्चीको योगदानलाई सधै स्मरण गर्नुपर्ने बताउँदै भावी पुस्तालाई पनि उनको बारेमा अनुसन्धान गराउन आवश्यक रहेको बताए ।
परियार सेवा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले बोल्दै देशमा धेरै सरकार आएपनि बिसे नगर्चीको योगदानलाई महत्व नदिएको कारण ओझेलमा परेको बताए । उनले अहिलेको नयाँ सरकारले बिसे नगर्चीको योगदानलाई केही हदसम्म भएपनि सम्मान गरेको बताउदै हुलाक टिकटमा बिसे नगर्चीको तस्वीर राखेकोमा प्रसंशा गरे ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बिसे नगर्चीको शालिक निर्माणमा सबै व्यवसायीको साथ र सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सबैको साथ जरुरी रहेको बताए ।
त्यस्तैगरी रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर कार्की, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपाल, गोरखा फाउण्डेसनका अध्यक्ष बिरु दर्नाल, परियार सेवा समाज रुपन्देहीका सल्लाहकार जंग बहादुर बुढापृथी, परियार गुठी समाज पाल्पाका अध्यक्ष तीर्थप्रसाद गौतम, दलित कल्याण समाज संघका केन्द्रीय उपाध्यक्ष रबि विश्वकर्मालगायतले बोल्दै बिसे नगर्चीको शालिक अनावरणले रुपन्देहीमा सकारात्मक सन्देश प्रभाव भएको बताउँदै यसको संरक्षण र प्रबद्र्धनमा सबै लाग्नुपर्ने बताए ।
विसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष राम बहादुर रणपालले बोल्दै विसे नगर्चीको शालिक तथा विश्राम गृह निर्माणका लागि जग्गा उपलब्ध गराउने संस्था मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको सिंङ्गो टिम, आर्थिक सहयोग गर्ने बुटवल उपमहानगरपालिका, विभिन्न दाता तथा सहयोगी महानुभावहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा समाजसेवी डुल बहादुर कुँवर, रिब्दीकोट गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुँवर, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष सरोज गौतम, लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल छिनाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विसे नगर्चीको शालिक निर्माण तथा विश्राम गृह निर्माणका लागि आर्थिक सहयोग गर्ने विभिन्न महानुभावहरु, कलाकार र पत्रकारलाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा लोकश्वर सम्राट तथा संस्थाका सल्लाहकार राजु परियार, कुसुम परियार, बिजय सुनाम, पूर्णचन्द्र परियारलगायतका कलाकारमार्फत गीत प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा चरङ्गे बाजा समूहको समेत प्रस्तुति रहेको थियो ।
कार्यक्रममा विसे नगर्ची एकताको प्रतिक नेपालका वरिष्ठ उपाध्यक्ष लोक बहादुर नेपालीले विसे नगर्चीको इतिहासको बारेमा चर्चा गर्दै उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नारायण विपी परियारले गरेका थिए ।





