काठमाडौं । नेपालको वनलाई आर्थिक सम्वृद्दिको आधार बनाउनुपर्नेमा सरोकारवालाहरुले जोडदिएका छन् । ग्रीन फाउण्डेसन नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले दिगो वन व्यवस्थापनमार्फत रोजगारी र उद्यमशीलता बढाउनुपर्नेमा जोडदिएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपालको वनबाट सोचे जति लाभ लिन नसकिएको भन्दै उपभोक्ताले व्यवस्थापन गरेकै कारण वन बढ्न सहयोग पुगेको बताउनुभयो । जलवायु परिवर्तनका असर कम गर्दै वातावरण जोगाउन नेपालको सामुदायिक वनको योगदान महत्वपूर्ण भएको उहाँको भनाइ छ ।
ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले गरिबी निवारणका लागि वनबाट रोजगारी सिर्जना तथा उद्यमशिलतामा जोडदिनुपर्ने बताउनुभयो । आर्थिक सम्वृद्दि बिना देश विकास हुन नसक्ने भन्दै उहाँले नेपालको वनलाई आम्दानीको श्रोतका रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य भारती पाठकले जलवायु परिवर्तनको असर कम गर्न वन क्षेत्रको योगदान भएको बताउँदै रोजगारीका लागि वन क्षेत्रले धेरै योगदान गर्नसक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा डिमानका केन्द्रीय अध्यक्ष सूर्यबहादुर थापा, अर्जुन कार्की लगायतले वन क्षेत्रको सम्भावना र आर्थिक सम्वृद्दिबारे चर्चा गर्दै विपद् रोकथामका लागि पनि वन महत्वपूर्ण भएको बताउनुभएको थियो ।





