बाढी र डुबानको समस्या न्यूनीकरण गर्न स्पन्ज सिटी मोडल

डा. दामोदर भुसाल
अनियन्त्रित विकासका कारण सहरहरूमा डुबानको समस्या बढ्दै गएको छ । विशेषगरी पुराना सहरहरूमा ढल निकास प्रणाली अपर्याप्त भएकाले पानी निकास हुन सक्दैन । यसको समाधानका लागि विश्वभर ‘स्पन्ज सिटी मोडल’ अपनाइँदैछ । नेपालमा पनि यसको आवश्यकता देखिन्छ ।
वर्षाका बेला ठाउँ–ठाउँमा डुबानको समस्या देखिने गरेको छ । व्यापारी, विद्यार्थी, कर्मचारी कृषक तथा सर्वसाधारण सबै डुबानबाट समस्यामा छन् । कसैले ईञ्जिनियरलाई, कसैले नेतालाई, कसैले अव्यवस्थित रुपमा जग्गा प्लटिङ गर्नेलाई दोष दिन्छन् भने कसैले सहरलाई दोष दिन्छन् । आजकल नेपालको तराईका भुभाग, पोखरा, काठमाडौं लगायतका क्षेत्र डुबानको समस्याबाट प्रभावित छन् । हाम्रो छिमेकी राष्ट्र भारतका सहरहरुमा पनि यदाकदा यस्ता ‘जलप्रलय’ का दृश्य देखिन्छन् ।
वर्षा कम होस् वा धेरै, मनसुनी होस् वा नहोस्, हाम्रा पालिकाहरु, यहाँसम्म कि गाउँहरू पनि वर्षाको पानीले जलमग्न हुने गरेका छन् । धेरै दिनसम्म पानीजम्ने भइरहन्छ । पालिकाहरुले न त वर्षाको पानी सोस्ने विकल्पमा काम गर्न सकेका छन्, न त त्यसलाई निकास गर्न नै सकेका छन् । अपर्याप्त र अधिकांश पुराना, जीर्ण तथा फोहोरले भरिएका नाला–नालीको ढल निकास प्रणाली र अव्यवस्थित शहरीकरण पनि यसको एउटा कारण हो । कतिपय अवस्थामा त आवासीय क्षेत्रबाट पम्पद्वारा पानी निकाल्नुपर्ने अवस्था आएको पाइन्छ । नालाहरू अवरुद्ध हुन्छन् । शौचालय तथा ढलका पाइपहरू पनि भरिन्छन् । धेरै बस्तीहरू ढल निकास प्रणालीसँग जोडिएका छैनन् । यसले गर्दा डुवानका नयाँ क्षेत्रहरू थपिँदै जान्छन् ।
डुबान भएपछि पानी जमिनभित्र पस्ने प्रक्रिया बन्द वा मन्द हुन्छ । भूमिगत जलस्तर उच्च रहन्छ । ठोस कंक्रिटका संरचनाका कारण पानी जमिनमुनि कम पुग्छ । जलवायु परिवर्तनको समयमा विश्वका धेरै सहरहरू ‘जलप्रलय’ को अवस्थाबाट गुज्रिरहेका छन् । ईञ्जिनियरिङ प्रणालीहरूले यस समस्याको समाधान गर्न सकिरहेका छैनन् । त्यसैले धेरै देशहरूले आफ्ना सहरलाई ‘स्पन्ज सिटी’ बनाउने अभियान थालेका छन् । ‘स्पन्ज सिटी’ अर्थात् यस्तो सहर, जसले अतिरिक्त वर्षाको पानीलाई स्पन्जले जस्तै सोस्छ, भण्डारण गर्छ र आवश्यक पर्दा उपलब्ध गराउँछ ।
स्पन्ज सिटीले आफ्नो पानी बाहिर पठाउनुको सट्टा आफ्नै सीमाभित्रै संरक्षण गरेर प्रयोग गर्छ । यसलाई पार्क तथा बगैँचामा सिँचाइका लागि प्रयोग गर्न सकिन्छ । लामो समयसम्म स्पन्ज सिटीको पानी पुनः प्रयोग गर्न सकिन्छ । यसबाट उत्सर्जित कार्बन र जलवायु परिवर्तनका प्रभावहरू कम गर्न पनि सहयोग पुग्न सक्छ ।
स्पन्ज सिटीहरूमा रूख, पार्क, पोखरी, ताल, वेटल्यान्ड, रेन गार्डेन, हरित छाना तथा पार्कमा आधारित अतिवृष्टि व्यवस्थापन गरिन्छ । यस्ता संरचनाहरू भारी वर्षामा कम समस्याग्रस्त हुन्छन् । यसको उद्देश्य छिटोभन्दा छिटो नाला–नालीमार्फत पानी बाहिर निकाल्ने परम्परागत सोंचभन्दा फरक, पानीलाई बिस्तारै रिसावका माध्यमबाट जमिनमा पुर्याउनु हो । यसको मूल उद्देश्य वर्षाको पानीलाई रोक्नु र सोस्नु हो । यसबाट बाढीको जोखिम पनि कम हुन्छ र पानीको पुनःप्रयोग गर्न सकिन्छ ।
स्पन्ज सिटीको कार्यान्वयनलाई सहरहरूमा जल–अकाल, बाढी, जलप्रलय, ‘हिट आइल्यान्ड’ निर्माण तथा जैविक विविधताको क्षति कम गर्ने उपायका रूपमा लिइँदैछ । यसलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्ने उपकरण पनि मान्न सकिन्छ । पेरु, क्यानडा, अमेरिका, अस्ट्रेलिया र चीनजस्ता देशहरूले पनि यसलाई अपनाएका छन् । भारतमा पनि महानगरीय बाढी रोक्न स्पन्ज सिटी योजना तथा अध्ययनमा काम भइरहेको छ । हालै दिल्लीका लागि मास्टर प्लान २०४७ घोषणा गरिएको छ, जसमा दिल्लीलाई स्पन्ज सिटीको दिशामा अघि बढाउने लक्ष्य देखिन्छ । फेब्रुअरी २०२१ मा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले पनि स्पन्ज सिटी लागू गर्ने योजना बनाएको थियो । सन् २०२१ देखि चेन्नईले पनि आफूलाई स्पन्ज सिटीका रूपमा रूपान्तरण गर्न थालेको थियो । ग्रेटर चेन्नई कर्पोरेसनले बाढी रोक्न ५७ वटा स्पन्ज पार्क स्थापना गर्ने निर्णय गरेको थियो । चीनले सन् २०१४ देखि स्पन्ज सिटी निर्माणलाई सहरी योजनाको हिस्सा बनाएको थियो । चीनको पेकिङ विश्वविद्यालयका प्राध्यापक कोंगजियान यूले स्पन्ज सिटीको अवधारणालाई अघि सारेका थिए । जलजमाव रोक्न चीनले यस्ता सहर निर्माण गर्न चाहेको थियो, किनकि उसका नयाँ बसेका धेरै सहरहरू पानीको अभावसँग पनि सम्बन्धित थिए ।
स्पन्ज सहरहरूका सम्बन्धमा चीनको लक्ष्य भनेको उसका ८० प्रतिशत सहरले कम्तीमा ७० प्रतिशत वर्षाको पानी सङ्कलन तथा उपयोग गरून् भन्ने हो । नेपालको लक्ष्य पनि यस्तै हुनुपर्छ । जलवायु परिवर्तनको समयमा सहरहरू विशाल स्पन्जजस्तै बन्नुपर्छ ।
प्रकृतिले पहिले नै हामीलाई जंगल, घाँसे मैदान, वेटल्यान्ड तथा प्राकृतिक झिलका रूपमा प्राकृतिक स्पन्जहरू प्रदान गरेको थियो । हामीले नै त्रुटिपूर्ण विकासको बाटो अपनाएर तिनलाई छिन्नभिन्न र नष्ट गर्यौँ । वेटल्यान्ड अर्थात् दलदली भूमियुक्त क्षेत्रहरू पहिलेदेखि नै प्राकृतिक स्पन्जको रूपमा काम गर्थे, जसलाई हामीले नष्ट गरिदियौँ । त्यहाँ बस्तीहरू बसाइदियौँ । फ्लड प्लेनमा पनि अवैध कब्जा भएका छन् । जसका कारण वर्षाको पानी सोस्ने क्षमता कम भएको छ । वेटल्यान्ड तथा बाढी क्षेत्रले पानीलाई रोक्ने, छान्ने र सोस्ने काम गर्थे । साथै जैविक विविधतालाई पनि संरक्षण गर्थे ।
दुर्भाग्यवश, हामी स्पन्ज सिटीको परिकल्पनाको विपरीत दिशामा गएर विकास गरिरहेका छौँ । वर्षाको पानी स्वाभाविक रूपमा बग्ने बाटो, गहिराइतर्फ जाने मार्ग तथा बेसिनहरूलाई समेत काटेर वा पुर्दै आएका छौँ । अब पालिका तथा महानगरहरूमा तुलनात्मक आधारमा मूल्याङ्कन गर्न आवश्यक छ । कुन पालिका तथा महानगरमा कति रूख र झिल छन् तथा कति कंक्रिटको विस्तार भएको छ । यसको अध्ययन जरूरी छ ।
(पर्यावरण विषयमा विद्यावारिधि गर्नुभएका भुसाल त्रिभुवन विश्वविद्यालयका उप—प्राध्यापक हुनुहुन्छ ।)

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.